दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु: शोकले व्याकुल बाँकेको टिटिहिरिया

फाइल तस्बिर: दुर्घटनास्थल
फाइल तस्बिर: दुर्घटनास्थल

भारतको बेतालघाटनजिक भएको सडक दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका– ८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।

दुर्घटनामा बाँकेका ६, बर्दियाका १ र अर्का १ जना भारतीय नागरिकको मृत्यु भएको थियो।

वडाध्यक्ष थारूकाअनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासी तीलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ।

थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते भएका छन्।

‘नयाँ वर्षको मुखैमा भएको अकल्पनीय दुर्घटनाले हाम्रो वडा शोकमा  छ’, वडाध्यक्ष थारूले भने, ‘भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेका छौँ।’

प्रकाशित मिति: : 2024-04-10 11:11:00

प्रतिकृया दिनुहोस्