प्लान नेपाल र पेस नेपालकाे साझेदारीमा जुम्लाकाे माध्यमिक विद्यालयमा विज्ञान प्रयाेगशाला स्थापना

जुम्लाकाे सिंजा गाउँपालिका- २ चुलेल गाउँस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ। प्लान नेपाल, पेस नेपाल र विद्यालयको लागत साझेदारमा प्रयोगशाला स्थापना गरिएको हो।

प्लान नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत ४ लाख बराबरको ९१ प्रकारका विज्ञान प्रयोगशाला सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेले बताए।

‘विद्यालयसँगको लागत साझेदारमा प्रयोगशाला सामाग्री व्यवस्थापन गरिएको हो,’ उनले भने, ‘यसमा विद्यालयले विज्ञान प्रयोगशाला सामाग्री राख्नका लागि ९० हजार बराबरको फर्निचर टेवल, दराज र र्‍याक निर्माण गरेको छ।’

शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिएको न्यौपानेको भनाइ छ। यही सामाग्री प्रयोगमा ल्याएर शिक्षण सिकाइमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारले विकास साझेदार संस्थासँगको समन्वय र सहकार्यमा शिक्षा क्षेत्रको उन्नतिका लागि काम गर्दै आएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

‘विद्यालयको भवन निर्माणदेखि शौचालय, खानेपानीका धारा, विज्ञान प्रयोगशाला स्थापना गरिएको छ,’ उनले भने, ‘विज्ञान प्रयोगशाला सामाग्रीले विद्यार्थीको शिक्षण सिकाईमा सुधार ल्याउने विश्वास छ।’
 

प्रकाशित मिति: : 2024-04-17 20:17:00

प्रतिकृया दिनुहोस्