सहकारी ठगी प्रकरण: दिपेश पुनले बुझाउन सकेनन् धराैटी, कारागारमै बास

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका  कान्छा छोरा दिपेश पुन कारागार चलान भएका छन्। 

माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका उनी धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन्। 

उनलाई भैरहवास्थित रुपन्देही जिल्ला कारागार पठाइएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारीले बताएका छन्।

त्यस्तै, अर्का प्रतिवादी नवीन अछामी पनि धरौटी रकम राख्न नसक्दा कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीश डा.श्रीप्रसाद उप्रेतीको इजलासले सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ्गलाई थुनामा पठाउन र दिपेशसहित ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो।

आदेशमा दीपेशसँग ४ लाख, नवीनसँग १० लाख, लीला चापागाईंसँग १८ लाख, दिपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगरसँग २ लाख र रोशनी गुरुङ्गसँग २ लाख रुपैयाँ धरौटी मागिएको छ।

प्रकाशित मिति: : 2024-04-19 19:43:00

प्रतिकृया दिनुहोस्