विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आजपाद्वारा आन्दोलनकाे घोषणा

आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गराउनका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

४० देखि ५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यताविपरीत मधेसमा ८० देखि १०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौँ विद्यालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पूरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्षसहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ।

बैठकले शिक्षा विभागको मापदण्ड भन्दा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट तत्काल दरबन्दी कटौती गर्न र शिक्षक दरबन्दी अपुग रहेको विद्यालयमा तत्काल आपूर्ति गर्न माग गरेको छ।

यस्तै प्रत्येक विद्यालयमा तहगत र बिषयगत शिक्षक आपूर्ति गर्नुपर्ने, शिक्षा विभागको मापदण्ड अनुसार प्रत्येक तहको विद्यालयमा तह अनुसारको न्यूनतम शिक्षक दरबन्दी आपूर्ति गर्नुपर्ने माग आजपाको छ।

मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सयसम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ।

आजपाले उठाएको शिक्षासम्बन्धी यी मागहरु पूरा गराउनका मधेसका प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, वैशाख १७ गते अपुग दरबन्दी रहेको विद्यालयमा विद्यार्थी र अभिभावकबीच अन्तर्क्रिया कार्यक्रम गर्ने, वैशाख १८ गतेदेखि २१ गतेसम्म प्रत्येक जिल्लामा अपुग दरबन्दी पूर्ति गराउन संघर्ष समितिहरु गठन गर्ने, वैशाख २२ गते जिल्ला शिक्षा समन्वय इकाई समितिमा तालाबन्दी गर्ने र वैशाख २५ गते शिक्षा विभाग घेराउ गर्ने आन्दोलनका कार्यक्रम आजपाले सार्वजनिक गरेको छ।

आजपा मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षता एवं पार्टीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलगायतका नेताहरुको उपस्थितिमा बसेको उक्त बैठकले संगठन विस्तारलगायतका महत्वपूर्ण निर्णयहरुसमेत गरेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन्।

प्रकाशित मिति: : 2024-04-28 15:30:00

प्रतिकृया दिनुहोस्