९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।

काठमाडौँको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमनकाे भनाइ छ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2024-04-28 17:47:00

प्रतिकृया दिनुहोस्