नरेन्द्र मोदी ‘गुफा’ पसे, ४८ घण्टा ध्यानमा बस्ने

File Photo
File Photo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ४८ घण्टाका लागि ध्यानमा बसेका छन्।

भारतमा भइरहेको लोकसभा चुनावको प्रचारप्रसार सकेपछि अन्तिम चरणको मतदान हुनुअघि उनी ध्यानमा बसेका हुन्। कन्याकुमारीमा बिहीबार रातिदेखि उनले ध्यान सुरु गर्नेछन्।

भारतमा लोकसभा चुनावको अन्तिम चरण जुन १ मा हुनेछ। त्यसका लागि अब बिहीबार रातिदेखि नै मौन अवधि सुरु भएको छ। यो मौन अवधिभरि प्रधानमन्त्री मोदी कन्याकुमारीमै ध्यान बस्नेछन्। यो त्यही स्थान हो, जहाँ स्वामी विवेकानन्द पनि कुनैबेला ध्यान बसेका थिए। यो सन् १८९२ तिरको समय थियो।

२०१९ को लोकसभा चुनावका बेला पनि मोदीले यस्तै आध्यात्मिक यात्रा थालेका थिए। त्योबेला पनि उनले केदारनाथ मन्दिरको एउटा गुफामा ध्यान गरेका थिए।

३३ वर्षअघि अर्थात् १९९२मा नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीको एउटा टोलीले कन्याकुमारीबाटै ‘एकता यात्रा’ सुरु गरेका थिए। त्यो यात्रा काश्मिरमा गएर टुङ्गिएको थियो।

भारतमा भइरहेको ७ चरणको लोकसभा चुनावको अन्तिम चरण जुन १ मा हुनेछ। त्यसपछि जुन ४ मा मतपरिणाम घोषणा हुनेछ।

दुई कार्यकाल प्रधानमन्त्री भइसकेका नरेन्द्र मोदी यसपालि पनि दोहोरिनसक्ने आंकलन गरिएको छ। तर बिजेपीलाई चुनौती दिनका लागि भारतीय राष्ट्रिय कंग्रेससहित २ दर्जन दलहरूले पनि ‘इन्डिया गठबन्धन’ बनाएका छन्। यसपालि कंग्रेसका राहुल गान्धीले पनि निकै आक्रामक राजनीतिक अभियान चलाएका थिए।

प्रकाशित मिति: : 2024-05-30 19:02:00

प्रतिकृया दिनुहोस्