सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले ‘मिडिया च्याम्पियन’ उपाधि प्राप्त गरेको छ।
संयुक्त राष्ट्र संघको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्यूनिकेसन युनियन (आईटीयू) ले प्रदान गर्ने डब्ल्यूएसआईएस २०२४ अन्तर्गत मिडिया विधाको उपाधि अकोराबले प्राप्त गर्न सफल भएको हो।
स्वीट्जरल्यान्डको जेनेभामा शुक्रबार आयोजित विशेष कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले च्याम्पियनको प्रमाणपत्र ग्रहण गरे। आईटीयूले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गरी दिगो विकासका लक्ष हासिल गर्न विश्वभरि गरिएका पहलहरूमध्ये उत्कृष्टलाई सन् २०१२ देखि यो सम्मान प्रदान गर्दै आएको छ।
अकोराबले २०८० सालको कात्तिक १७ गते जाजरकोटको बारेको केन्द्रबिन्दु भएर भूकम्प गएपछि सामुदायिक रेडियो प्रसारक संघले यूएनडीपी र यूनेस्कोको सहयोगमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय सामुदायिक रेडियोहरू तथा अन्य सञ्चारमाध्यमका पत्रकार र कर्मचारीको मनोबल बढाउने, क्षति पुगेका रेडियोलाई पुनः सञ्चालन गर्ने, भूकम्पपश्चात् खेल्नुपर्ने भुमिकाको क्षमता बढाउने, बञ्चितिकरणमा परेका र अन्य स्थानीय समुदायलाई सूचना प्रवाह र राहत वितरण तथा स्थानीय सरकारको सेवा प्रदान गर्न सहजीकरण गरेको थियो।
एकीकृत रूपमा सञ्चालित यस परियोजनाले विपद्को समयमा सामुदायिक रेडियोहरूको महत्त्व दर्साउनुका साथै भविष्यमा विपद् पश्चात् रेडियोहरूलाई पार्दै खेल्नुपर्ने भूमिकालाई उदाहरणको रूपमा स्थापित गरेको र यो सम्मानले सामुदाकि रेडियोहरुलाई थप हौसला मिलेको अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले बताए।
यसका साथै स्थानीय सामुदायिक रेडियोहरूले भूकम्प गए पश्चात् हुन सक्ने र भएका नकारात्मक क्रियाकलापहरूलाई निस्तेज गर्न सक्रिय भूमिका खेलेका अकोराबका अध्यक्ष अर्जुन गिरीले बताए।