भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. बद्री चापागाईंको काज सरुवा भएको छ।
गत जेठ २३ गतेको मन्त्रीस्तरीय निर्णयमा उनको सरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा भएको हाे।
उनी लामो समयदेखि भेरी अस्पतालमा कार्यरत थिए। उनीविरुद्ध भेरी अस्पतालमा भएको नियुक्तिका सम्बन्धनमा सर्वोच्च अदालतमा मुद्धासमेत परेको थियो।
२०७० असोज २३ मा लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरेल डिजिज उपसमूहको नवौँ तहको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नेगरी विज्ञापन प्रकाशित गरेको थियो। उक्त पदका लागि चापागाईं सिफारिसपछि नियुक्त भएका थिए।
त्यसपछि डा. चन्द्रभाल झाले लोक सेवा आयोग अनामनगर र डा. चापागाईलाई विपक्षी बनाएर मुद्धा दायर गरेका थिए। चापागाईंविरुद्ध परेको मुद्दामा सर्वोच अदालतले ‘परमादेश’ आदेश जारी गरेको थियो।
अदालतले जारी गरेको आदेशको पूर्णपाठ भने आइसकेको छैन। यद्यपि, अदालतले निवेदकको मागअनुसार गर्न आदेश दिएको स्रोत बताउँछ। न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले उक्त आदेश जारी गरेको थियो।
डा. चापागाईको योग्यता नपुगेको भन्दै डा. झाले लोक सेवा आयोगमा उजुरी दर्ता गरेपनि सुनुवाई नभएपछि सर्वोच्च अदालत पुगेका थिए। डा. चापागाईंको नियुक्ति सिफारिस कानुनविपरीत भएको भन्दै त्यतिबेला नै झाले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका थिए।
तर, आयोगले उनको सिफारिस कानुन बमोजिम भएको भनेपछि सर्वोच्च अदालत गुहार्न पुगेको डा. झाले बताएका छन्।