रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, लामो रस्साकस्सीपछि प्रहरीमा मुद्दा दर्ता

Symbolic photo
Symbolic photo

रौतहटको उत्तरीभेग गुजरा नगरपालिकाकी एक दलित बालिकामाथि सामूहिक बलात्कार घटनामा लामो रस्साकस्सीपछि प्रहरीमा मुद्दा दर्ता भएको बाहिरिएको छ।

घटनापछि केही स्थानीय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेको कारण घटनाको २२ दिनपछि मात्र मुदा दर्ता भएको हो।

गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरुविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो। पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।

आरोपीहरु गुजरा-४ कनकपुर गाउँका शेख जफीरको छोरा वर्ष २० को शेख इञ्जमाम, शेख बाकलको छोरा वर्ष २१ का शेख मुस्ताक र रामचन्द्र दास तत्माको छोरा वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणीलगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत भएर आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाईनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

घटना विवरणअनुसार आरोपीमध्ये एकजनाले गुजरा-४ कनकपुर गाउँकी १७ वर्षीया एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई ललाईफकाई गत असार १५ गते दिउँसो कटहरिया-२ कनकपुर जमुनिया गाउँबीचको चौरमा लागेका थिए।

पहिलैदेखि त्यहाँ लुकिबसेका अन्य दुई आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालैपालो बलात्कार गरी मोबाइल फोनबाट भिडियोसमेत बनाएका थिए।

घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराएपछि स्थानीय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उनको परिवारमाथि दिएको दबाबको कारण घटना बाहिर आउन सकेन।

भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कारजस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको विभिन्न धम्कीको कारण उनीहरू प्रहरीसामु पनि जानसकेका थिएनन्।

घटनाको २० दिनपछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटनाबारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरूलाई हौसला दिँदै घटनाबारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन्।

लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडकविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएको थियो।

जाहेरीसंगै एसपी दिलीप घिमिरे, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्र मणि अधिकारी आफैँ फिल्डमा खटेर कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन्।

एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुंगो लगाउने कार्य आफैँमा अपराध भएको बताएका छन्। उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कारवाही हुनुपर्ने बताएका छन्।

आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरे आएदेखि तुलनात्मक रूपमा आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति: : 2024-07-28 12:06:00

प्रतिकृया दिनुहोस्