चितवनमा मोटरसाइकल र कार ठोक्किँदा सैनिक जवानको मृत्यु, एक जना घाइते

भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो। प्रहरीका अनुसार सोही गणमा कार्यरत २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्।

गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-31 13:41:00

प्रतिकृया दिनुहोस्