प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेको छ।
बुधबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
घटनामा संलग्नमध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन्।
उनले भने, ‘अनुसन्धान गर्दा घट्नामा संलग्नमध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको खुल्न आएको र हाल प्रतिवादी रञ्जन खड्का धेरै समय भारतको ब्याङ्लोरमा लुकेर बसेको खुल्न आएको छ।’
प्रहरीले यसअघि विनोद थापा र सविता थापा अधिकारीलाई पक्राउ गरेको थियो। कमर्स क्याम्पसकै विद्यार्थी सवितालाई जिस्क्याएको निहुँमा विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिट गरी हत्या गरिएको थियो।