नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ। आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उनको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए।
दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते भएका थिए। गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उनले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य छन्।
क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताए। जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारीता झल्किएको उनले उल्लेख गरे।
पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाए। पुस्तकमा लेखकले जतिसुकै कठिनाई आइपरे पनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिएको उनले बताए।
सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराए। उनका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताए। लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रुपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाए।
'जीवनमा सधै एउटै लयमा चल्दैन रहेछ', उनले भने,'मेरो भोगाइले पाठकलाई प्रेरणा मिल्छ भने म सफल भएको ठान्छु।' यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो। किताब जात्रा शनिबारसम्म रहने छ।