सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहण गर्ने नेपालकी महिला पासाङ ल्हामू शेर्पाको नाम अब चन्द्रमामा पुगेको छ।
चन्द्रमामा रहेको एक क्रेटरको नाम ‘ल्हामू’ (Lhamu) राखिएको छ। अन्तर्राष्ट्रिय खगोलीय संघ (IAU) को ग्रह प्रणाली नामकरण गर्ने समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ।
क्रेटरको नाम ल्हामु राखिएकोमा अमेरिकाले खुशी व्यक्त गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ। अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ।’