कोहलपुर नगरपालिका–१ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम–कमला अक्षयकोष–२०८१ स्थापना भएको छ।
स्व. भिमबहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमलादेवी मल्लले १८ लाखको भिम–कमला छात्रवृति अक्षयकोष–२०८१ स्थापना भएको हो।
अक्षयकोष स्थापनाका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर चन्दको सभापत्विमा कार्यक्रम भएको थियो।
यो अक्षयकोष विशेषतः कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी, अनाथ, गरिब तथा विपन्न, जेहेन्दार, द्धन्द पिडित र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी मध्येबाट छनौटका आधारमा प्रतिवर्ष पुरस्कृत गर्ने रविद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले यो अक्षयकोषको स्थापना गरिएको हो।
विद्यालयले भिम–कमला छात्रवृति अक्षय कोष परिचालन निर्देशिका २०८१ र अक्षय कोष सञ्चालन सम्बन्धी ९ बुँदामा सम्झौता समेत भएको छ।
सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ।
विद्यालयका प्रअ दिलिप वली (पहिलो पक्ष) र अक्षय कोषदाता कमला देवी मल्ल (दोस्रो पक्ष) रहेको र साक्षीहरु उत्तरअधिकारी पे्रम कुमारी शाही, खगेन्द्र बहादुर शाही र विद्यालयका विव्यस अध्यक्ष अमर बहादुर चन्द रहेका छन् भने कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्री प्रसाद जैसी र नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालको रोहवरमा सम्झौता गरिएको छ।
अक्षय कोष कार्यक्रमका प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रभावकारी शिक्षा दिन त्रिकोणात्मक सम्बन्ध बलियो हुने बताए।
अक्षय कोषले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउने मात्र होइन, उनीहरूको भविष्य उज्यालो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले भिम–कमला अक्षयकोषको स्थापनाले नगरको शिक्षा क्षेत्रलाई ठुलो सहयोग पुर्याउने उल्लेख बताए।
‘नगरपालिकामा यस्तो उत्कृष्ट प्रयासले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने, ‘नगरका अन्य स्थानहरूमा पनि यस्ता कोषहरू स्थापना गर्न प्रोत्साहन गरिनु आवश्यक छ।’
जसले गर्दा विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्न आर्थिक कठिनाइको सामना गर्न नपर्ने शाहको भनाई थियो।
कार्यक्रममा नेकपा माओवादी (केन्द्र) कोहलपुर नगर अध्यक्ष अवराज खड्का र नेकपा (एस) का नगर अध्यक्ष शिव डाँगीले अक्षय कोष स्थापनाले थप शिक्षामा उर्जा थप भएको बताए। अक्षयकोष सञ्चालन तथा व्यवस्थापनका लागि अक्षर पालना हुने विश्वास दिलाएका थिए।
अक्षयकोषदाता कमला देवी मल्लले स्व. श्रीमान भिम बहादुर मल्ल ठकुरीको बारेमा चर्चा गर्दै शिक्षा र समाजप्रति लगाव बारे चर्चा गरेकी थिइन्।
स्व. श्रीमान भिम भिम बहादुर मल्ल ठकुरीले शिक्षामा निकै चासो र गहिरो रुची राख्थे तर उनी नभएपनि यो सपना आफूले पूरा गर्ने लक्ष्य राखेको बताइन्।
'उहाँको सपना पूरा गर्न एक सानो प्रयास हो, मैले उहाँको सम्झनामा यस अक्षयकोषको स्थापना गर्न पाउँदा गर्व अनुभव गरेकी छु', उनले भनिन्, 'आशा छ यसले यहाँका विद्यार्थीहरूलाई अक्षयकोषले प्रेरित गर्नेछ र उनीहरूको शिक्षा यात्रामा सहयोग पुर्याउनेछ।’
विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न यसले निकै महत्वपूर्ण भूमिका खेल्ने कोषदाता मल्लले बताइन्।
कार्यक्रमका सभाध्यक्ष अमर चन्दले अक्षयकोष स्थापना सहयोग गर्नुहुन सबैलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा सहभागि सबैलाई हृदयदेखि धन्यवाद दिँदै आगामी दिनहरूमा समेत यहाँहरुको साथ, सहयोग र सुझाव दिनुहुन अनुरोध समेत गरेका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रअ विरेन्द्र कुमार मल्लल कार्यक्रम सञ्चालन गरेका थिए।
यो कार्य उत्कृष्ट लाग्यो। दिलिप भाइ एक असल प्र. अ. हुन ! खुशी लाग्यो !! हामीले यस्तै उदाहरणीय कार्य गर्ने अब!!