रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यस वर्ष भक्तजनको संख्या घटेको छ। बर्सेनि लाग्ने मेलामा यस वर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ।
यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो। जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस वर्ष आठ हजारमात्र भक्तजन निलाद्री पर्वत पुगेको तथ्यांक छ।
जनैपूर्णिमाका अवसरमा गत वर्ष १६ हजार भक्तजनले निलाद्री पर्वत पुगेर स्नान गरेको भएपनि यस वर्ष आठ हजार भक्तजन घटेको चोलाङपाटी लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि सिनियर गेम स्काउट अर्जुन गौतमले जानकारी दिए।
सुत्ने ठाउँ र खानाकै समस्याका कारण यसरी बर्सेनि भक्तजनको संख्या घटेको तीर्थयात्री क्षितिज मैनालीले बताए। उनले भने, ‘पर्वको अवसरमा घुम्न र गोसाइँकुण्डको दर्शन गन भन्ने थियो। तर, यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठ्यारो भयो। अरुलाई घुम्न आउनु भनेर अरूलाई सुझाव दिन सक्ने अवस्था नै छैन। खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन। शौचालयहरूको समेत व्यवस्था छैन।’
गोसाइँकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरूले बढी पैसा लिने गरेका कारण समेतसमयमा तीर्थयात्रीहरूले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो।
यस्तै अर्का यात्री डिल्लीराम आचार्यले पनि खानाको लागि उपयुक्त ठाउँ नभएकाले भक्तजन घटेको गुनासो गरे। यस्तै उनले यातायातको सुविधा नहुनु मुख्य समस्या भएको बताए।
उनले भने, ‘भगवानको दर्शन गर्न पाउँदा खुसी त लागेको छ। तर, खानबस्नको लागि स्थान उपयुक्त लागेन। होटलहरुले पनि त्यति राम्रो खुवाउँदैनन्। अझ भक्तजनको कमी हुनु भनेको सबैभन्दा मुख्य समस्या यातायात नै हो।’
साथै उनले समितिले तोकेको पैसाभन्दा खानामा होटल व्यवसायीले बढी पैसा असुलेको आरोप लगाए।
कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरूलाई हम्मेहम्मे परेको थियो। तर, यो वर्ष यात्रुको चाप थोरै भएपनि खोलिएका लजले थेग्न नसक्ने तथा बढी मूल्य लिएर खाना दिने गरेको तीर्थयात्रीहरुको गुनासो छ।
तर, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले तुलनतात्मक रुपमा भक्तजनको संख्या केही कमी भए पनि व्यवस्थापनमा कमजोरी नभएको बताए। ‘यस वर्ष ९ देखि १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका छन्। अलिक अगाडिदेखिकै गणना गर्ने हो भने १२ हजार बढीले दर्शन गरेका छन्,’ उनले भने, ‘चित्तबुझ्दो संख्या त नहोला तर आउने भनेको यस्तै हो।’