डेडिकेटेड र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीले भने- उद्योग बन्द गरेर होइन, चलाएर बक्यौता उठाइन्छ

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन्।

बिहीबर प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग साेधिने भन्दै लाइन बन्द नगरी बक्यौता उठाउने कुरामा सरकार स्पष्ट रहेको बताए।

उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको बताए।

‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ। बक्यौता उठाउन पनि त उद्योग चलाउनैपर्छ। औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु। खपतअनुसारको महसुल उठाएरै छोडिन्छ’, उनले भने।

प्रकाशित मिति: : 2024-08-22 18:03:00

प्रतिकृया दिनुहोस्