सरकारलाई स्थिरता दिन कांग्रेस र एमालेको समीकरण बन्याे: गृहमन्त्री लेखक

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारलाई स्थिरता दिनको लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको बताएका छन्।

सिरहाको लहानमा नेपाली कांग्रेसको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्ताे बताएका हुन्।

‘संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर सरकार बनेको छ। गत चुनावमा संघ र प्रदेशमा कुनै पनि पार्टीको बहुमत नआउँदा कुनै न कुनै पार्टीसँग नमिली सरकार बन्ने स्थिति आएन। काठमाडाैँमा सरकार परिवर्तन हुँदा सातै प्रदेशका सरकार परिवर्तन हुने स्थितिले सरकारको स्थिरता भएन। त्यसैले सरकारलाई स्थिरता दिन यो समीकरण बन्न पुगेको हो’, उनले भने।

दुई ठुला दल मिल्दा पनि सरकारले जनपक्षिय काम गर्न सकेन भने जनतामा निराशा उत्पन्न हुने र व्यवस्था नै खतरामा पर्ने चुनौती रहेको भन्दै नेता लेखकले समावेशीतासहितको संघीय लोकतान्त्रीक गणतन्त्रलाई थप मजबुत बनाउन अहिलेको समीकरण बनेको बताए। दिगो शान्ती, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको मुख्य उद्धेश्य रहेका पनि उनले बताए।

मन्त्री लेखकले लोकतन्त्र बहालीका लागि भएका संघर्ष र अभियानहरुमा मधेसले महत्वपूर्ण भूमिका खेलेका बताए।

‘राणाशासनविरुद्धको आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन, राजाविरोधी आन्दोलनलगायत विभिन्न आन्दोलनमा मधेस अग्रणी रह्यो। जसले देशलाई अग्रगति दियो’, लेखकले भने, ‘यो देशको लोकतन्त्रीक शासन व्यवस्थासँग नेपाली कांग्रेसको जीवन छ। त्यसैले मधेसमा कांग्रेसलाई अझ मजबद बनाउनुपर्छ।’

प्रकाशित मिति: : 2024-08-22 18:29:00

प्रतिकृया दिनुहोस्