काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न सजिलो भएको बताएका छन्।
शुक्रबार ३२औँ महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन्।
उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरुबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरु, उहाँहरुले गर्दाखेरी विभागका सबै कार्यहरु सहज तरिकाले भएका छन्। स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरुदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरु वा खाद्यानको अनुगमनदेखिका सबै विभागका कामहरुको लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ।’
साथै उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे। उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे।