यहाँ प्रस्तुत तस्बिर हिजाे (आइतबार)देखि सामाजिक सञ्जालमा ‘भाइरल’ छ। याे तस्बिरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्।
आखिर यहाँ किन चारजनाले मात्र शव बाेकेका हाेलान्? धेरैकाे अनुमान छ, गाउँमा युवा छैनन्। युवा नभएपछि शव बाेक्ने मानिसकाे अभाव भयाे।
फेरि केहीले याे अवस्था जातिय विभेदकाे कारण आएकाे बताइरहेका छन्। हुन पनि याे कुरा सिन्धुलीकाे तीनपाटन गाउँपालिका वडा नं. ७ का अध्यक्ष युवराज पहाडीकाे भनाइसँग मिल्छ। वडाध्यक्ष पहाडी मृतकका आफन्त हुन्।
र, उनले भनेका छन्, ‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा मलामीसम्म जाने मान्छे छैनन् अनि अर्को कुरा हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’
वडाध्यक्षले यति भनेकाे थाहा पाएपछि हामीले वडाध्यक्ष पहाडीलाई सम्पर्क गर्याैँ।
वडाध्यक्ष पहाडीका अनुसार हिजाे (आइतबार) साेही वडाकाे ताेसार खाेलाकी वृद्धा विष्णुमाया पहाडीकाे निधन भएकाे थियाे। उनकाे निधनपछि ती चार जना आफन्तले मात्रै बाेकेर शवलाई दाहसंस्कारका लागि घाटसम्म पुर्याएका थिए। त्याे पनि दुई घण्टाकाे बाटाे हिँडेर।
हामीले वडाध्यक्ष पहाडीलाई साेध्याैँ- किन चार जनाले मात्रै शव बाेक्नुभएकाे हाे?
वडाध्यक्षले हामीलाई भने, ‘यहाँ क्षेत्री बाहुनहरूकाे पाँच-छ घर भन्दा धेरै छैन सर, अनि यहाँ मानिस मर्याे भने अरूले छुनु हुँदैन भन्ने रहेकाे छ। मलामी त ८०-८५ जना हुनुहुन्थ्याे तर शव चाहिँ हामी चार जनाले मात्रै बाेकेकाे हाे। अरू जातिका मानिसले शव छुनु हुँदैन भनेर यहाँका मानिसहरूले भने। त्यही भएर हाे, सर।’
वडाध्यक्ष पहाडीले भनेअनुसार ‘पहाडी’ त्यहाँकाे क्षेत्री समुदाय हाे। त्यहाँ याे समुदायकाे पाँच-छ वटा मात्रै घर रहेका छन्। याे समुदायमा मृत्युपछि शव अरू जाति (दलित-जनजाति)का मानिसले छुनु हुँदैन भन्ने मान्यता रहेछ।
आइतबार पनि विष्णुमायाकाे शव अरू जातिका मानिसले छुनु हुँदैन भन्ने आवाज उठ्याे। मलामी जाने करिब ८०-८५ जना मानिस थिए। तर, अरूलाई शव छुन दिइएन। र, अन्त्यमा वडाध्यक्षसहित चार जनाले शव बाेके।
खासमा त्यहाँ एउटा सामाजिक अन्धविश्वासका कारणले त्यस्ताे स्थिति सिर्जना भएकाे रहेछ। तर, याे नयाँ नाैलाे कुरा भने रहेनछ। त्याे गाउँमा पहिला पहिला त पहाडी जातिका धेरै युवाहरू हुन्थे र उनीहरूले शवलाई सहजै बाेकेर घाटसम्म पुर्याउँथे। तर, अहिले त्यहाँ याे जातिका युवाहरू छैनन्।
वडाध्यक्षकाे भनाइअनुसार याे एउटा अन्धविश्वास हाे। याे अन्धविश्वासका कारण ती चार जनाले मात्रै दु:ख त पाए नै बाँकी मलामी गएका अरू जातिका मानिसहरूलाई अपमानि त पनि तुल्यायाे।
वडाध्यक्ष पहाडीले ‘याे मान्यतालाई ताेडेर अब समुदायमा भएका सबै जात-जातिले शवकाे व्यवस्थापना गर्नुपर्छ’ पनि भनेका रहेछन्। तर, वडाध्यक्षकाे कुरालाई समाजले स्वीकार गर्न सकेन।
त्यसपछि वडाध्यक्षले भनेका रहेछन्, ‘हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’