प्रहरी संगठनविरुद्ध आक्रोश ओकल्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न चौतर्फी दबाव परेको छ। राजनीतिक दलका नेताहरू, सांसदहरू तथा पूर्वप्रहरी अधिकारीहरूले समेत उनलाई बर्खास्त गर्न माग गरेका छन्।
शनिबार पोखरामा आयोजित प्रदेश सरकारको समीक्षाका लागि भएको सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ भन्दै आक्रोश पोखेका थिए।
उनले त्यहाँ भनेका थिए, ‘अहिले प्रहरीको आईजीपीले के भन्नुभो? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ। त्यस्तो बोल्न पाउने कि नपाउने? त्यसको जिब्रो थुत्नुपर्थ्यो…।’ त्योबेला उनी प्रहरी समायोजनका बारेमा बोलिरहेका थिए र प्रहरी प्रमुख वसन्त कुँवरले प्रहरी समायोजन कानुनका लागि सरकारलाई असहयोग गरेको बताइरहेका थिए।
उनको यो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई बालुवाटार बोलाएर ‘कम बोल्न’ निर्देशन दिएका छन्। नेकपा एमालेका नेतासमेत रहेका गुरुङ यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री थिए।
यता, नेपाली कांग्रेसका नेता शंकर भण्डारीले विज्ञप्ति निकालेर सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्। उनले भनेका छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु।’
त्यस्तै मंगलबार संसदको बैठकमा बोल्दै धेरै सांसदहरूले पनि सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
पूर्वप्रहरीहरूको संगठनले पनि विज्ञप्ति निकालेर सञ्चारमन्त्रीको अभिव्यक्तिलाई संज्ञानमा लिएर कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, पूर्वप्रहरीहरूको संगठनले विज्ञप्तिमा भनेकाे छ।