दुई छोरीकाे हत्या गर्ने अस्मिताकाे बयान- श्रीमानले धेरै टर्चर दिएपछि विष खुवाएँ

Break n Links
Break n Links

मोरङमा दुई छोरीको हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छन्।

सुन्दरहरैँचा नगरपालिका-७ मालती टोलकी २९ वर्षीया अस्मिता कार्कीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङ जनाएकाे छ। 

कार्कीलाई प्रहरीले बुधबार बिहान विर्तामोड नगरपालिका-५ पूर्वपश्चिम-राजमार्ग नजिक एभरेष्ट बैंक अगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। उनलाई प्रहरीले आजै सार्वजनिक गरेको हाे। 

भदौ १५ गते सुन्दरहरैंचा-७ को केरा बगानमा उनकी १ वर्षकी छोरी आइङ्का र ३ वर्षकी छोरी अर्पणा मृत अवस्थामा फेला परेका थिए। अस्मिता सोही दिनदेखि फरार भएकी थिइन्।

प्रहरीका अनुसार उनले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।

उनीहरू श्रीमान-श्रीमतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ। प्रहरीका अनुसार उनले श्रीमानले धेरै टर्चर दिएपछि आफूले छोरीहरूलाई विष खुवाएर मारेकाे स्वीकार गरेकी छन्।

‘श्रीमानले धेरै टर्चर दिएपछि सुरुमा मैले विष पिएँ। मेरो छाती पोल्न थाल्यो। म मरेँ भने छोरीहरू जङ्गलमै हुने भए, बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ’, उनले प्रहरीसमक्ष बयानमा भनिन्।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा अस्मिताविरूद्ध जाहेरी दिएका छन्।

उनलाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: : 2024-09-04 16:09:00

प्रतिकृया दिनुहोस्