तत्काल राहत वितरण सुरु गरिने

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले विपद्बाट समस्यामा परेका नागरिकलाई तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ। राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट गरिने पनि निर्णय गरिएको गृह मन्त्रालयका सह सचिव ऋषिराम तिवारीले जानकारी दिए। 

समितिको बैठक सोमबार सिंहदरबारमा बसेको थियो। बैठकले विपद्मा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि सात दिनभित्र लाभग्राही पहिचान गर्ने निर्णय गरेको छ। 

साथै पहिचानपछि तीन दिनभित्र अस्थायी आवास निर्माण पनि गर्न अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ।

राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र संचालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने, बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रकृयाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने पनि निर्णय भएको छ। 

प्रकाशित मिति: : 2024-09-30 11:27:00

प्रतिकृया दिनुहोस्