नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाले नयाँ अनुहारहरूको उदयलाई स्वागत गर्नुपर्ने बताएका छन्। लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ शक्ति र अनुहारलाई दबाउन होइन, फुल्न दिनुपर्ने उनले स्पष्ट पारेका छन्।
उनले लोकतान्त्रिक प्रणालीलाई बगैंचासँग तुलना गर्दै भने, ‘लोकतन्त्ररूपी बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर होइन, फूल्न दिएर मात्र त्यसको सही पहिचान हुनसक्छ।’ पुराना भनिने नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्दै रुपान्तरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई सरापेर होइन, आफ्ना गल्ती सुधारेर मात्रै पुराना अनुहारले आफूलाई पुनःस्थापित गर्न सक्छन्,’ अध्यक्ष प्रचण्डले भने। उनले सही र गलतको पहिचान जनताले गर्ने उल्लेख गर्दै शासकको बल प्रयोग गरेर परिणाम बदल्न नमिल्ने धारणा राखे।
लोकतन्त्रको सुदृढीकरणका लागि स्वस्थ प्रतिस्पर्धा, सहिष्णुता र जनताको सक्रिय भूमिका अपरिहार्य रहेको उनको ठहर छ। ‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन यही प्रक्रियाले मात्र सम्भव बनाउँछ,’ अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे।
उनको यो भनाइले पुराना र नयाँ नेतृत्वबीचको सहकार्य र समन्वयका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।