राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बयानका लागि साेमबार अदालतमा उपस्थित गराइएको हो।
रविसहित पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल र लिला पछाईंलाई पनि अदालतमा उपस्थित गराइएको छ। सँगै मुद्दा दर्ता भएका कृष्ण गुरूङलाई भने अस्वस्थताका कारण अस्पताल लगिएको छ।
सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर आइतबार मुद्दा दर्ता गरेको थियाे। तीमध्ये बयानका लागि साेमबार रविसहित ५ जनालाई अदालतमा उपस्थित गराइएकाेमा जोशीको मात्रै बयान भइरहेको छ। उनको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ।
उनीहरूविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएकाे छ।
लामिछानेसहितको मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा परेको छ।