महरासँग जोडिएकी रोशनी आफ्नै डेरामा मृत् भेटिइन्

माओवादी उपाध्यक्ष तथा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी मुद्दा हालेकी रोशनी शाही मृत फेला परेकी छन्।

भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गमा डेरा गरी बस्दै आएकी शाही डेराभित्रै मृत फेला परेकी हुन्।

श्रीमान डेरामा नभएका बेला उनले अत्यधिक औषधि सेवन गर्दा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

डेराबाहिर रहेका श्रीमान फर्किएपछि ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडिएको थियो। त्यतिबेलासम्म रोशनीको सास रोकिइसकेको थियो।

उनको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। 

तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए।

कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्‍यायो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो।

प्रकाशित मिति: : 2025-05-25 17:51:00

प्रतिकृया दिनुहोस्