अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक एप्पल कम्पनीलाई चेतावनी दिएका छन्। उनले अमेरिकीले नै प्रयोग गर्ने सबैभन्दा प्रमुख मोबाइल फोन (आइफोन) एप्पलको उत्पादन अमेरिकामै गर्न भनेका छन्।
कम्पनीले चीन, भारत वा अरु कुनै देशमा त्यसको उत्पादन केन्द्र खोलेमा २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी पनि उनले दिएङ्का छन्।
‘मैले धेरै पहिला पनि पटक पटक एप्पलका कार्यकारी टिम कुकलाई भनिसकेको छु कि अमेरिकामा सबैभन्दा धेरै बिक्ने आइफोन अमेरिकामै निर्माण हुनुपर्छ। मलाई विश्वास छ एप्पलले त्यसै गर्नेछ। त्यसको उत्पादन अमेरिकामै हुनेछ। भारत वा अरु कुनै देशमा होइन।’
यसअघि चीनमा सञ्चालित एप्पलको उत्पादन केन्द्रलाई कम्पनीले भारतमा सार्ने अन्तिम तयारी गरिसकेको थियो। तर ट्रम्पले त्यो कम्पनी भारत नलैजान सञ्चालकलाई निरन्तर चेतावनी दिइरहेका छन्।
ट्रम्पको निरन्तर चेतावनीपछि एप्पलको शेयर ३.७ प्रतिशतभन्दा धेरै गिरावट भएको छ। जसबाट कम्पनीको बजार मूल्यमा लगभग १०० बिलियन अमेरिकी डलर नोक्सान भएको छ।
एप्पलले ट्रम्पको चेतावनीबारे आफ्नो प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
एप्पलले आफ्नो मुख्य साझेदार फक्सकोनसँग भारतको चेन्नइमा लगभग १.५ बिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने आइफोन उत्पादनका लागि प्लान्ट निर्माणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
अमेरिकामा उत्पादन लगानी धेरै लाग्ने भएका कारण एप्पलले आफ्ना सबै उत्पादनहरू चीनमै निर्माण गर्छ। एप्पलको सबैभन्दा ठूलो उत्पादनकर्ता चीन हो। यद्यपि एप्पल अमेरिकी कम्पनी हो र त्यसका लगानीकर्ता पनि अमेरिकी नागरिक नै हुन्।
पहिलो कार्यकालदेखि नै ‘अमेरिकी प्रथम’ भन्ने नीतिका साथ विश्व शक्तिकेन्द्रका रुपमा स्थापित हुन खोजेका ट्रम्प दोस्रो कार्यकालमा अझ आक्रामक देखिएका छन्।