इजरायल र इरानको युद्ध समाप्तीको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानले भने उल्टो जवाफ दिएको छ। ट्रम्पले दुबैबीच युद्धबिरामका लागि सहमति भएको भन्दै नेपाली समयअनुसार रात पौने ३ बजे सामाजिक सञ्जालमा लेखेका थिए। र, आगामी २४ घण्टाभित्रमा पूर्णरुपमा ‘युद्ध समाप्त’ हुने घोषणा गरेका थिए। त्यो बेला इजरायल र इरान दुबैले एकअर्कामाथि मिसाइल हानिरहेका थिए।
इरानका विदेशमन्त्री अब्बास अरागचीले सैन्य कारबाही रोक्नेबारे कुनै सहमति नभएको बताएका छन्। उनले यदि इजरायलले सैन्य कारबाही रोकेमा आफूहरूले आक्रमण नगर्ने पनि प्रस्ट पारेका छन्।
इजरायलले आफ्नो ‘कर्तुत’को सजाय पाउनुपर्ने भन्दै उनले इरानले त्यसलाई जारी राख्ने पनि बताए। ट्रम्पले सुरुमा इरानले आक्रमण रोक्ने र त्यसको १२ घण्टापछि इजरायलले काराबाही रोक्ने घोषणा गरेका थिए। तर इरानले तेल अभिवमा मिसाइलहरू खसालिरहेको छ।
ट्रम्पले युद्ध बिरामको घोषणा गर्नुभन्दा अघि इरानले कतार तथा इरानमा रहेका अमेरिकी सैन्य वेसहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
कतारको अल उदैद अमेरिकी वायु सैनिक बेस क्याम्प र इराकस्थित सैनिक क्याम्पमा क्षेप्यास्त्र प्रहार गरेको जनाएका छन्। यो बेस क्याम्प राजधानी दोहा नजिकै पर्छ।
यद्यपि कतारले इरानका क्षेप्यास्त्रहरू आकाशमै नष्ट गरिसकेको दाबी गरेको छ। तर कतारका कतिपय सडकहरूमा ती मिसाइलका अवशेषहरू भेटिएका छन्।
यसअघि अमेरिकाले इरानका सबैभन्दा महत्वपूर्ण आणविक प्रशोधन केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले पनि अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो।
खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।
यसअघि इरानका शीर्ष कमाण्डर कसिम सुलेमानीको हत्याको हत्याको बदला लिन यसअघि इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गरेको थियो। त्यो बेला पनि सुलेमानीको हत्या आदेश ट्रम्पले नै दिएका थिए।