किशोरी बलात्कार मुद्धामा माओवादीका युवा कमाण्डर पक्राउ

बिएल संवाददाता

रुकुम पूर्व

बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र)को युवा दस्ता संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)का नेता रेशम क्षेत्री पक्राउ परेका छन्।

रुकुम पश्चिमको चौरजहारी घर भएका क्षेत्री वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्। उनलाई रुकुम प्रहरीले बिहीबार राति सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ गरेकोह हो। उनीविरुद्ध आजै अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

०७९ चैतमा जाजरकोटकी १७ वर्षीया किशोरीलाई चौरजहारीस्थित एक होटलमा लगेर बलात्कार गरेको र बलात्कारपछि छोरीको जन्मसमेत भएको युवतीले प्रहरीलाई बयान दिएकी छन्।

प्रहरीका अनुसार बलात्कारपछि युवती गर्भवती भएकी थिइन्। क्षेत्रीले गर्भपतन गराउन दवाब दिएपनि युवतीले मानिनन्। पछि छोरीको जन्म भएपछि उनले किशोरीलाई छोरीको सबै खर्च व्यवस्थापन गर्छु, भन्दै मुद्दा गर्न रोकेका थिए।

तर, पछिल्लो समय वाईसीएल नेता क्षेत्रीले वास्ता गर्न छाडेपछि दुई महिनाअघि नै युवतीले रुकुम प्रहरीमा बलात्कार मुद्दामा उजुरी दिएकी थिइन्। प्रहरीले अदालतबाट पक्राउपूर्जी लिएर खोजी सुरु गरेको थियो।

वाईसीएल नेता क्षेत्री यसअघि माओवादी अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रुकुम पश्चिम आउँदा उनको सुरक्षार्थ परिचालित वाईसीएल दस्ताको अग्रमोर्चामा उनी नै थिए।

प्रकाशित मिति: : 2025-06-27 13:44:00

प्रतिकृया दिनुहोस्