राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीहरूको निरन्तर अवरोध अनि बहिष्कार कारण अस्तव्यस्त भइरहेको प्रतिनिधिसभाको बैठकमा अब एउटा नयाँ प्रकरण घुसेको छ। त्यो भनेको ‘भिजिट भिसा’ प्रकरण नै हो। जुन मुद्दामा रास्वपा र राप्रपाहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लामो समयदेखि बैठकमा अवरोध गर्दै आएका छन्।
भिजिट भिसाकै नयाँ प्रकरणमा यतिबेला ‘सुमिरे टुर्स एन्ड ट्राभल्स’को इन्ट्री भएको छ। जसलाई नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदमा बहसको विषय बनाए। शनिबार रास्वपाका सांसदहरूले बेल घेरिरहँदा सांसद खतिवडाले भनेका थिए ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कस्को ट्राभल्स हो मलाई थाहा छैन। तर दश वर्षदेखि सुमिरे टुर एन्ड ट्राभल्स भिजिट भिसाका नाममा मान्छे जापान पठाएर अर्बौं लुटिरहेको छ।’
आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नै कम्पनी भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले ‘चोरेर खानेहरूले गरिखानेहरूलाई’ निराधार आरोप लगाउने गरेको पनि बताए।
शनिबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसामा नेपालीलाई जापान पठाएर अर्बौं कमाएको बताएका थिए। तर उनले त्यो कम्पनी कस्को हो भनेर भनेका थिएनन्।
सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए।
उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं। यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो।’
उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए।
‘यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने प्रयास गरियो,’ उनले भने, ‘राजनीतिलाई पेसा बनाएर वर्षौंदेखि देश दोहन गरिरहेकाहरुले आफूजस्ता व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाइरहेका छन्।’
सांसद अर्यालले आफ्नै ट्राभल्स कम्पनीको नाम सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपलाई स्पष्ट रुपमा अस्वीकार गरे।
‘सुमेरे टुर एण्ड ट्राभल्स मेरो कम्पनी हो। म यो देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन,’ उनले भने ‘मेरो समय ठीक चलिरहेको छ। अरुको घडीको समय बिग्रेको छ भने म के भनौं?’
उनले कम्पनीमार्फत एक जना पनि व्यक्ति जापान वा कुनै देशमा भिजिट भिसामा गएकै छैनन् भन्ने दाबी गर्दै प्रमाण माग गरे।
‘यदि कसैले प्रमाण दिन्छ कि हामीले पैसा लिएका छौं र मान्छे फर्किएका छैनन् भने म जिम्मेवारी लिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ’ उनले भने।
डिपी बाेल्दै गर्दा रामहरिले पनि प्रतिवाद गरेका थिए। खतिवडाले ‘आफूले कसैको नाम नलिएको भन्दै बरु चोरको खुट्टा काट्छु भन्दा आफैले खुट्टा अघि सारेको जस्तो’ बताएको बताएका थिए।
सोह्रखुट्टेमा रहेको यो कम्पनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी (डाेलप्रसाद) अर्यालको हो। यो कम्पनीको सञ्चालकमा रास्वपाका कबिन्द्र बुर्लाकोटी पनि छन्। मुकुललाई पार्टीले हटाएपछि उनलाई रास्वपाले पार्टीको महामन्त्री बनाएको छ। सांसद हुनुभन्दा अघि अर्याल एक ब्यापारी हुन्। लामो समय जापानमा बसेर काम गरेका उनले नेपाल फर्केर शिक्षा, स्वास्थ्य र पर्टयन क्षेत्रमा ब्यापार गर्दै आएका थिए। याे ट्राभल्सले जापान, थाइल्याण्डलगयत विभिन्न देशहरूका लागि ‘टुर प्याकेज’ बेच्दै आएकाे छ।
अर्यालले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन्। रास्वपाबाट समानुपातिक सांसद भएपछि उनी श्रममन्त्री पनि भएका थिए।