यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो। गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताए।
'पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ, यद्यपि गत वर्षको तुलनामा बढी छ', उनले भने, 'सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ।'
विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ।
कोशी प्रदेशमा हालसम्म दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७३ हेक्टरमध्ये ८१ हजार छ सय ३४ दशमलव ९ हेक्टरमा रोपाइँ भएको छ। जुन २९ दशमलव ५४ प्रतिशत हो। प्रदेशमा गत वर्ष यही अवधिमा ३४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो।
मधेस प्रदेशमा तीन लाख ७२ हजार छ सय ४५ हेक्टरमध्ये ९३ हजार चार सय ६८ दशमलव दुई हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। जुन २५ दशमलव ०८ प्रतिशत हो। प्रदेशमा गत वर्षको यही समयमा २५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको थियो।
विभागका अनुसार बागमती प्रदेशमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमध्ये हालसम्म ५१ दशमलव नौ प्रतिशत अर्थात ६२ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ भएको छ। प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो।
गण्डकी प्रदेशमा ९४ हजार एक सय ८२ हेक्टरमध्ये ५५ दशमलव ६ प्रतिशत अर्थात ५२ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा प्रदेशमा ४९ दशमलव सात प्रतिशत रोपाइँ भएको थियो।
विभागका अनुसार लुम्बिनी प्रदेशमा तीन लाख दुई हजार नौ सय ३९ हेक्टरमध्ये एक लाख ५७ हजार आठ सय ५७ हेक्टरमा रोपाइँ भएको छ। जुन ५२ दशमलव एक प्रतिशत हो। प्रदेशमा गत वर्षको यही अवधिमा ४४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा ४० हजार आठ सय ८४ हेक्टरमध्ये हालसम्म ७१ दशमलव सात प्रतिशत अर्थात् २९ हजार दुई सय ९९ क्षेत्रफलमा रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो।
विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार एक सय ५१ हेक्टरमध्ये हालसम्म एक लाख ४५ हजार नौ सय ३२ हेक्टरमा रोपाइँ सकिएको छ। जुन ८२ दशमलव आठ प्रतिशत हो। प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ सकिएको थियो।
कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ।