जिटिभीको ‘सारेगमप’ मा प्रितमले लगाएको प्रित

प्रितम आचार्य जिटिभीको कार्यक्रम सारेगमप लिटल च्याम्प्सको सेमिफाइनलमा।

'तडप तडपके इस दिल से आह निकलती रही,

मुझको सजा दी प्यारकी,

ऐसा क्या गुनाह किया,

तो लुट गए, हाँ लुट गए

तो लुट गए, हम तेरी मोहब्बतमेँ ...'

भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आइतबार इटहरी-५ का एघार वर्षीय प्रितम आचार्यले यो गीत गाउँदा भारतीय गायिका ऋचा शर्मा आफ्नो आँशु पुछ्दै थिइन्। 

अर्का गायक अमाल मल्लिकले छक्क पर्दै भने, 'यहाँ कसैले गीत गाइरहेको थिएन, लाग्यो कुनै जादू चलिरहेको छ।'

गायक शानले पनि तारिफको पुल बाँधे, 'यो सिजनका दुई उत्कृष्ट गीत छान्ने हो भने दुवै तिम्रै हुनेछ प्रितम।'

अडिसन चरणमै 'सन्देशे आते है, हमे तड्पाते है...' गाएर लाखौं भारतीयसँग 'प्रित' लगाएका प्रितमलाई 'तडप तडपके...' गीतले अन्तत: कार्यक्रमको टप-६ अर्थात् फाइनलमा पुर्यायो।

सुरूआतदेखि नै निर्णायक मण्डल र 'सेलेब्रिटी' पाहुनाहरूको मन जित्दै आएका प्रितम भारतको चर्चित 'रियालिटी शो' विजेता बन्ने अन्तिम प्रतिस्पर्धामा छन्। उनीसँगै नेपालबाट गएका अर्का प्रत्यासी भक्तपुरका आयुष केसी पनि फाइनलमा पुगेका छन्, जसका बारेमा हामी अर्को स्टोरीमा चर्चा गर्नेछौं।

संसारकै एक ठूलो फिल्म उद्योग 'बलिउड' र सवा अर्ब जनसंख्याको बजारयुक्त भारतमा गीत-संगीतलाई राम्रो करिअरका रूपमा लिइन्छ। लाखौं केटाकेटी भविष्यमा किशोर कुमार र मोहम्मद रफी बन्ने सपना देख्दै हुर्कन्छन्। त्यहीअनुसार उच्चस्तरीय तालिम लिन्छन्।

नेपालजस्तो सानो बजार र गीत-संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीयहरूकै माझ उभिएर अब्बल प्रदर्शन गर्नु र उनीहरूलाई नै पछार्दै फाइनलसम्म पुग्नु आफैंमा तारिफयोग्य हो। प्रितम र आयुषले त्यही कोटीको प्रदर्शन गरे, यसपालिको 'सारेगमप' सिजनमा।

प्रितमले आफ्नो सुमधुर आवाजबाट गृहजिल्ला सुनसरीमा धेरैलाई 'मन्त्रमुग्ध' पारेको पाँच वर्षभन्दा बढी भयो।

प्रकाशित मिति: : 2019-06-05 11:56:52

प्रतिकृया दिनुहोस्