अफ्रिकी देश तान्जेनियामा धोकेबाज लोग्ने मान्छेलाई नियन्त्रणमा राख्न स्थानीय सरकारले एउटा रोचक योजना लागू गर्न लागेको छ।
तान्जेनियामा महिलासँग झुटो प्रेम गर्ने पुरूषको संख्या बढ्न थालेपछि स्थानीय सरकारले नयाँ योजना प्रयोगमा ल्याउन लागेको हो।
तान्जेनियाको ठूलो शहर दार–अस–सलामका गर्भनरले महिलालाई झुटो प्रेमको आश्वासन दिँदै फसाउने पुरुषबाट जोगाउन विवाहित पुरूषको सम्पूर्ण जानकारी राष्ट्रिय डाटाबेस सिस्टमसँग जोड्न लागेको छ।
क्षेत्रीय कमिश्नर पल मर्कोडाले प्रेममा धोका पाउने महिलाको उजुरी बढेपछि यो योजना लागू गर्न लागिएको बताए। उनका अनुसार महिलाहरूलाई विवाहको सपना देखाएर उनीहरूसँग सम्बन्ध बनाउने पुरूषको संख्या तान्जेनियामा बढ्दो छ।
उनले भने, ‘पुरुषहरूको सूचना संकलन गर्न थालेपछि प्रेममा धोका दिने व्यक्तिलाई निरुत्साही गर्न सहयोग पुग्ने छ। महिलाबाट मैले थुप्रै उजुरी प्राप्त गरेको छु। उनीहरूलाई सुरुमा विवाहको मोहमा पारेर फसाउँने गरिन्छ।’
उनले यसका लागि क्षेत्रीय आयुक्त कार्यालयमा ‘डेटाबेस’ स्थापना गर्ने र विवाहको वाचा गर्ने पुरुषको सम्पूर्ण डेटा राखिने बताए।
उनले यही डेटाबेसमार्फत महिलाले पुरुषहरूको अगाडि विवाह भएको छ वा छैन, त्यसको पनि सम्पूर्ण जानकारी पाउने बताए।
मर्कोडाको प्रस्तावको विषयमा केन्यामा पनि बहस सुरु भएको छ।