नेपाल भ्रमण पुरा गरि चिनियाँ विदेशमन्त्री स्वदेश फर्किए

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी मङ्गलबार तीन दिने नेपालको औपचारिक कार्यक्रमपछि स्वदेश फर्कदै त्रिभुवन विमानस्थलमा । तस्वीरः प्रदीपराज वन्त

नेपालको तीन दिने औपचारिक भ्रमण पुरा गरि चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका वाङले काठमाडौं बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बेग्ला बेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए ।

उनको भ्रमणकै क्रममा दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत भएको थियो।

वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीन वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

प्रकाशित मिति: : 2019-09-10 15:50:15

प्रतिकृया दिनुहोस्