बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको शुभारम्भ (भिडियोसहित)

बिएल

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार शुभारम्भ गरिएको छ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका थिए। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरिएको छ। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ। पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ। परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताए। प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए। प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको बताए।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए। दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको बताए।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन पनि दिए। निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ।

 

प्रकाशित मिति: : 2019-09-10 18:51:36

प्रतिकृया दिनुहोस्