नवौ‌ पुष्पलाल स्मृती ब्याडमिन्टन यस पालि इटहरीमा

बिएल

खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ। सुरुमा राष्ट्रिय खेलाडीको बरियता निर्धारण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता नवौं संस्करणसम्म आइपुगेको छ।

भाद्र २४ देखि २८ सम्म इटहरीस्थित रङ्गशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष उच्च १६ बरियता तथा महिला उच्च १२ बरियताको एकल, उक्त बरियता बाहेकको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल गरि १० स्वर्ण पदकका लागि करिव १ सय ९० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्।

पुरुष तर्फ उच्च १६ बरियता तथा महिलातर्फ उच्च १२ बरियतामा रहेका खेलाडी बीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए। उनले उच्च बरियताका खेलाडीले खुलामा प्रतिस्पर्धा गर्दा खेलको स्तरमा झनै कमी आउने भएकाले उच्च बरियताका बीच मात्र एकलमा प्रतिस्पर्धा गराइने बताए। उक्त बरियता बाहेकले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्नेछन्। यस्तै पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए।

प्रतियोगितालाई नेपालस्थित योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईजले विगत केहि संस्करणदेखि प्रायोजन गर्दै आईरहेको र यस पटक पनि प्रायोजन गर्ने भएको छ।

कुल ५ लाख ५८ हजारको लागत रहेको प्रतियोगितामा उच्च बरियता बीच पुरुष तथा महिला एकलमा शीर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्नेछन्।

यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन्। छात्र तथा छात्रा एकलका विजयी शीर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्नेछन्।

खेलाडीको लागि खाना तथा बसोबासको ब्यवस्था सह आयोजक सुनसरी ब्याडमिन्टन क्लबले गर्ने आयोजकले जनाएको छ।

नवौं संस्करणसम्म आईपुग्दा विभिन्न खेलाडीले मोटरसाईकल प्राप्त गरिसकेका छन्। लगातार तीन पटक एकलमा उपाधि हात पार्ने खेलाडीलाई संघले मोटरसाईकल प्रदान गर्ने परम्परा बसालेको थियो। यसले प्रतियोगिताको स्तरलाई उच्च स्तर प्रदान गर्नुका साथै खेलाडीहरुको मनोबल उच्च राख्न र खेल स्तरलाई बढाउन सफल भएको छ।

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-25 18:26:13

प्रतिकृया दिनुहोस्