नेपालमा ठूलो जात्राको रुपमा रहेको इन्द्रजात्रा चलिरहँदा इंग्लिस टिमका पूर्व अलराउन्डर एन्ड्रयु फ्लिन्टफ काठमाडौंको हनुमानढोका परिसरमा देखा परेका छन्।
आइतबार नै नेपाल आइपुगेका उनी सोमबार दिउँसो मात्र हनुमानढोकामा झुल्किएका थिए। नेपाल आगमनसँगै सोशल मिडियामा उनको तस्वीर भाइरल भएको छ।
फ्लिन्टफ तिनै खेलाडी हुन्, जसले सन् २००५ मा इंग्ल्यान्डलाई एसेज शृंखला जिताएका थिए। उनी कुनै बेला इंग्ल्यान्डका उत्कृष्ट अलराउन्डर थिए। सन् २०१० मा क्रिकेटबाट सन्यास लिएका ४१ वर्षीय फ्लिन्टफ बेलायतको चर्चित बिबिसी मिडियाले सञ्चालन गर्ने ‘टप गियर’ कार्यक्रमको प्रस्तोताको रुपमा नेपाल आएका हुन्।
नेपाल भ्रमणका क्रममा उनले काठमाडौंबाट मुस्ताङको साताब्यापी भ्रमण गर्न लागेका छन्।
‘टप गियर’ बेलायतमा लोकप्रिय कार्यक्रम भित्र पर्छ। सन् २००२ देखि यो कार्यक्रम बिबिसीको च्यानल २ बाट प्रसारण हुँदै आइरहेको छ। एडभेन्चर स्पोर्टसलाई प्रबद्र्धन गर्ने यो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ लाई पनि सहयोग पुग्ने बताइएको छ।
फ्लिन्टफले दश वर्ष लामो आफ्नो करिअरमा ७९ टेस्ट खेल्दै ३ हजार ८ सय ४५ रन बनाउँदै २ सय २६ विकेट लिएका थिए। उनले १ सय ४१ एकदिवसीयमा ३ हजार ३ सय ९४ रन बनाउनुका साथै १ सय ६९ विकेट लिए।