स्वयम्भुबाट सुरू भयो ओलम्पिक टर्च र्‍याली

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौँबाट सुरु भएको छ। स्वयम्भु मन्दिर परिसरमा बरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेका थिए।

नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्‍याउने कार्यक्रम रहेका छ। पहिलो दिन र्‍याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैठौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिने छ। आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ। नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्‍याली सम्पन्न हुनेछ।

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ।

सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन्। सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ ।

प्रकाशित मिति: : 2019-11-22 10:44:38

प्रतिकृया दिनुहोस्