आइप्याड र आइफोनका डिजाइनर जोनी इभले एप्पलबाट राजीनामा दिए

Agency

आइप्याड, आइफोन र म्याकबुकका डिजाइनर जोनी इभले २७ वर्षपछि एप्पल कम्पनिबाट राजीनामा गरेका छन्। उनी एप्पलका प्रमुख डिजाइनर थिए। उनले पदबाट राजीनामा गरेको जानकारी कम्पनिले विहिबार सार्वजनिक गर्यो।

एप्पल कम्पनिका अनुसार उनी वर्षको अन्त्यसम्म पदबाट बाहिरिने छन्। जोनी सन् १९९२ मा एप्पल कम्पनिमा प्रवेश गरेका थिए। उनले आइप्याड, आइफोन र म्याकबुकको डिजाइन गरेका थिए।

एप्पलका कार्यकारी निर्देशक टिम कुकका अनुसार जोनीले आफ्नै कम्पनि सञ्चालनमा ल्याउन पदबाट राजीनामा गरेका हुन्। तर, उनी बाहिर बसेर पनि एप्पलसँग जोडिरहने बताइएको छ।

कुकले भने, ‘डिजाइनको दुनियामा उनी अद्धितिय छन्। एप्पललाई पुनसंरचना गर्न उनले गरेको योगदानलाई बिर्सन सकिन्न् ।’

१९९८ मा आइम्याकदेखि आइफोन निमार्णमा उनको भूमिका महत्वपूर्ण थियो। उनले एप्पलको महत्वकांक्षी पार्क ‘केम्पस’ निमार्णमा आफ्नो सबै उर्जा खर्चेका थिए।
‘जोनी एप्पलको विशेष प्रोजेक्टमा जोडिने छन्,’ कुकले भने।

एप्पलका संस्थापक स्टिभ जब्स कम्पनीको कार्यकारी निर्देशक हुँदा पनि जोनी एप्पलको प्रमुख सहयोगीको रुपमा कार्यरत थिए। स्टिभ जब्सको जीवनी लेखेका पत्रकार तथा लेखक वाल्टर इसाकसनको किताबमा जोनीको तारिफ गरिएको छ। स्टिभ जब्सले जोनीलाई खुब मन पराउँथे।

जब्सले उनलाई ‘पार्टनर इन ड्रिमिङ अप डिवासेस’ बाट सम्बोधन गर्थे। इसाकसनको किताबमा जोनीलाई जब्सको आध्यात्मिक साथी भनेर सम्बोधन गरिएको छ। जब्सले एप्पलको निमार्ण योजनामा जोनीको धारणा आफूसँग मिल्ने भनेर उनको क्षमताको तारिफ गरेका छन्।

एप्पल छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै जोनीले भने, ‘एप्पलमा तीन दशक काम गर्न पाउँदा गर्व लागेको छ। अहिलेको समय एप्पलको इतिहासकै उत्कृष्ट समय हो। कम्पनि यतिबेला निकै बलियो अवस्थामा छ। यहाँ काम गर्ने व्यक्तिहरू उत्साही र प्रतिभावान छन्।’

जोनीले कम्पनि छोड्ने समाचार बाहिरिएलगत्तै विहिबार एप्पलको शेयर १ प्रतिशतले घटेको थियो।

प्रकाशित मिति: : 2019-06-28 16:14:02

प्रतिकृया दिनुहोस्