लामो समयदेखि निस्कृय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने

तस्बिरः एजेन्सी

लामो समयदेखि निस्कृय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने भएका छन्। माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका अकाउन्टहरु बन्द गर्ने तयारी गरेको हो।

यसको पूर्वतयारी स्वरुप ट्वीटरले यस्ता निस्कृय ट्वीटर प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाउन सुरु गरेको छ।

‘द भर्ज’मा प्रकाशित रिपोर्टमा ट्वीटरका प्रवक्ताले भनेका छन्,‘प्रयोगकर्ताहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता स्वरुप हामीले निस्कृय अकाउन्टहरुलाई बन्द गर्ने कार्य गरिरहेका छौँ, ताकि मानिसहरुले बढ्ता सटिक, विश्वसनीय जानकारी प्राप्त गर्न सकुन् र ट्वीटरमाथि पूर्ण भरोसा गर्न सकुन्।

उनका अनुसार यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित गर्नेछ ।

यदि पछिल्लो ६ महिनादेखि निस्कृय रहेका अकाउन्टहरु डिसेम्बर ११ सम्म पनि साइन इन नगरेमा स्वतः बन्द हुनेछन्। त्यसरी हटाइएका ट्वीटर अकाउन्टको युजर नेम अरुले प्रयोग गर्न सक्नेछन्।

ट्वीटरका अनुसार अकाउन्ट बन्द गर्ने प्रक्रिया केवल एक दिनमा होइन, कैयन् महिनामा पूरा हुनेछ।

प्रकाशित मिति: : 2019-11-28 13:13:04

प्रतिकृया दिनुहोस्