गुगल फेसबुक र युट्युबलाई करको दायरामा ल्याउन बंगलादेशले नयाँ कानुन बनायो

तस्बिरः एजेन्सी

इन्टरनेट कम्पनीहरु फेसबुक, गुगल, युट्यूब र अन्य डिजिटल प्लेटफर्मले बंगलादेशमा आफ्नो व्यवसाय गर्न मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने भएको छ।

आगामी जुलाई १ देखि लागू हुने गरी बंगलादेशले नयाँ मूल्यअभिवृद्धि कर कानुनअनुसार सामाजिक सञ्जाल तथा अन्य सेवाप्रदायक इन्टरनेट कम्पनीलाई करको दायरामा ल्याउन लागेको हो।

द डेली स्टार अनलाइनका अनुसार बंगलादेशको राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउन यस्तो कदम चालेको हो।

खासगरी अनलाइनमा आधारित विज्ञापनबाट कर नतिरी रकम संकलन गरिरहेको भन्दै बोर्डले उनीहरुलाई करको दायरामा ल्याउन नयाँ कानुन कार्यान्वयनमा ल्याउन लागेको हो।

अब डिजिटल प्लेटफर्मका कम्पनीले बंगलादेशमै कार्यालय खोल्नुपर्ने वा भ्याट तिर्न एजेन्टलाई खटाउनुपर्ने नयाँ नियम बनाएको छ।

चर्चित सामाजिक सञ्जाल फेसबुक, भिडियो सेवा दिने युट्यूब र खोजी इन्जिन कम्पनी गुगल तथा अन्य डिजिटल प्लेटफर्मबाट सरकारले पाउनुपर्ने कर नपाएको बोर्डका भ्याट अनलाइन प्रोजेक्टका निर्देशक सइद मुशाफिकुर रहमानले बताएका छन्। उनले यी साइटहरु र प्लेटफर्मका कुनै अफिस वा एजेन्ट बंगलादेशमा नरहेको भन्दै अब भने यी कम्पनीहरुले यहाँको कानुनअनुसार व्यवसाय गर्नुपर्ने बताए।

बोर्डका अधिकारीहरुले ‘भ्यालु एडेड ट्याक्स एण्ड सप्लिमेन्टरी ड्युटी एक्ट २०१२’को बुँदा १९ अनुसार फेसबुक, गुगल र युट्युबजस्ता कम्पनीहरुले भ्याटमा दर्ता हुनुपर्नेछ भने सोहीअनुसार आफ्नो स्थानीय कार्यालयबाट कर तिर्नुपर्नेछ।

प्रकाशित मिति: : 2019-05-31 14:19:24

प्रतिकृया दिनुहोस्