यी हुन्- नेपाली फुच्चे स्याटलाइटले खिचेका तस्बिर !

नेपाली फुच्चे स्याटलाइटले खिचेका पृथ्वीका तस्बिर । तस्बिर : बर्डस् ३ क्युवस्याट ।

नेपालले पहिलोपटक अन्तरिक्षमा पठाएको फुच्चे स्याटलाइटले खिचेका तस्बिर सार्वजनिक गरिएका छन् । असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको फुच्चे स्याटलाइटले १२ तस्बिर खिचेको बताइएको छ। तीमध्ये चार तस्विर संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले सार्वजनिक गरेको हो । 

नेपालमाथि बादल नलागेको तस्बिर खिचिए पनि त्यो प्रशोधनकै क्रममा रहेकाले सार्वजनिक हुन नसकेको बताइएको छ । 

नेपाली फुच्चे स्याटलाइट नेपाल स्याट- १ का निर्मातामध्ये एक नेपाली वैज्ञानिक हरिराम श्रेष्ठका अनुसार फुच्चे स्याटलाइटले पहिलो तस्बिर सूर्यको र अर्को तस्बिर जापानमाथि लागेको बादलको खिचेको छ । तस्बिरमध्ये तीनवटा सूर्य र तीनवटा पृथ्वीको भएको पनि उनले बताए ।

यो पनि हेर्नुहोस् 

अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण


परियोजनामा धेरै निकायले पालैपालो काम गर्ने, यो समयमा जापानमा हावाहुरी आउने भएकाले पनि धेरै तस्बिर खिच्न नसकेको उनले बताए । उनका अनुसार तस्बिरहरू  विद्यावारिधि गरिरहेकाहरु, अन्वेषक, जियोलोजिष्ट, हावापानीको बारेमा अनुसन्धानकर्ताका लागि उपयोगी हुनेछन् ।

वैज्ञानिक श्रेष्ठले नेपालको पनि एउटा तस्बिर खिचिएको र त्यो तयार हुने क्रममा रहेको बताए ।  भू–उपग्रहको ग्राउण्ड स्टेशन नेपालमा नभएकाले जापानबाट नेपाललाई केन्द्रीत गरेर तस्बिर खिच्न दुई–तीन घण्टा अघि कमाण्ड दिनुपर्ने भएकाले सजिलो नभएको उनले बताए ।  

यो पनि हेर्नुहोस् 

बिएल बिशेष: 'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट

संयुक्त राष्ट्र संघको बर्डस् परियोजनाको सहयोगमा क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठलगायतले नेपाली फुच्चे स्याटलाइट नेपा स्याट १ बनाएका थिए । त्यसका लागि नेपालले एक करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको थियो । 

नेपा स्याट-१ अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको भर्जिनियास्थित अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । 

प्रकाशित मिति: : 2019-08-04 05:25:21

प्रतिकृया दिनुहोस्