अब इन्स्टाग्राममा खाता खोल्दा जन्ममिति खुलाउनु पर्ने

तस्बिर:एजेन्सी

फोटो शेयरिङ एप इन्स्टाग्राम सुरु भएको झण्डै एक दशक भयो। अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा जन्ममिति राख्नुपर्ने नियम बन्दैछ।खासगरी बालबालिका तथा किशोरकिशोरीहरूलाई सोसल साइटमा हुने हिंसाबाट जोगाउनका लागि इन्स्टाग्रामले यस्तो उपाय अपनाएको हो ।

बुधबारदेखि इन्स्टाग्राममा नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ। यसअघि इन्स्टाग्राममा खाता खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर १३ वर्ष वा सोभन्दा माथि रहेको कुरा उल्लेख गरे पुग्दथ्यो र पूरा जन्ममिति उल्लेख गर्नु पर्दैन थियो।

इन्स्टामा अकाउन्ट खोल्दा जन्ममिति खुलाउनु पर्ने प्रावधानले कम उमेरका बालबालिका तथा किशोर किशोरीलाई इन्स्टाग्राम प्रयोग गर्न निरुत्साहन गर्ने र त्यसबाट बालबालिकामाथि इन्स्टामा हुने हिंसाको जोखिम कम हुने विश्वास इन्स्टाग्रामको छ।

प्रयोगकर्ताको जन्ममितिको जानकारीलाई इन्स्टाग्रामले उनीहरूको गोपनियताको सुरक्षामै प्रयोग गर्नेछ। कम उमेरका तथा हिंसाको जोखिममा रहेका इन्स्टाग्राम प्रयोगकर्तालाई प्राइभेसी सेटिंग्सका विभिन्न सुझावहरू उपलब्ध गराइनेछ।

अब इन्स्टाग्रामको खातामा जन्ममिति हाल्नु परेपछि प्रयोगकर्ताको वालमा आउने विज्ञापनहरू समेत उमेरगत हिसाबका हुने र यसले बालबालिकालाई अनुपयुक्त विज्ञापनमा फस्ने जोखिम नहुने विश्वास इन्स्टाग्रामको छ।

नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने अनिवार्यता भए पनि पुराना प्रयोगकर्ताले भने स्वेच्छिक रूपमा आफ्नो जन्ममिति राख्न पाउनेछन्। फेसबुकसँग आबद्ध भएका इन्स्टाग्राम अकाउन्टको हकमा फेसबुकमै उल्लेखित जन्ममितिलाई नै स्वतः इन्स्टाग्राममा सारिनेछ।

प्रकाशित मिति: : 2019-12-08 14:58:11

प्रतिकृया दिनुहोस्