नेपाल भर्सेज बंगलादेशः स्वर्णका लागि भुटानसँग खेल्ने टोलीको टुङ्गो लाग्दै

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ आइतबार नेपालले बंगलादेशको सामना गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

शनिबार माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको नेपालले २४ घण्टा भित्रै अर्काे खेल खेल्न लागेको हो। 

नेपाललाई फाइनल पुग्न बराबरी काफी छ भने बंगलादेशलाई जित निकाल्नै पर्ने दबाब छ।

हेड टु हेडको अंक तालिकामा वरीयताको टुंगो लाग्ने भएकाले नेपालका लागि बंगालदेशविरुद्धको खेल महत्वपूर्ण छ।

बंगलादेशसँग नेपाल पराजित भएमा हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ।

किनभने बंगलादेशसँग पराजित भएको अवस्थामा नेपाललाई गोलअन्तरको कुनै पनि काम हुने छैन। त्यसैले नेपाललाई कम्तिमा बराबरीको खाँचो छ।

नेपालसँग मात्रै पराजित भुटान ४ खेलबाट ९ अंक सहित फाईनल पुग्ने पहिलो टोली बनेको छ। नेपालको ७ अंक रहँदा बंगलादेशको ४ अंक रहेको छ।

श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ।

नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन्।

प्रकाशित मिति: : 2019-12-08 11:56:50

प्रतिकृया दिनुहोस्