प्रसूतिगृहको मूल भवन पुनःनिर्माण

तस्बिरः एजेन्सी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर जापानी सहयोग नियोग(जाइका)को सहयोगमा पुनःनिर्माण सम्पन्न भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मूल भवनको आज उद्घाटन गरेका छन्।

सो अवसरमा उनले भत्किएका संरचना राम्रो बनाउने काममा उपलब्धि भएको उल्लेख गर्दै अस्पतालका पार्किङ, जमीनलगायत समस्या समाधानका लागि सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

अस्पताल निर्माण, डिजाइन, सुपरीवेक्षण, परामर्श सेवा, फर्निचर र मेडिकल उपकरणका लागि रु दुई अर्ब ३६ करोड खर्च भएको थियो ।

“नेपालमा पहिलो पटक प्रसूति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शय्याबाट हाल ४०० भन्दा बढी शय्यामा पुगेको छ, यसको अझै स्तरोन्नति हुनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने। भूकम्पपछि अप्ठ्यारो अवस्थाबाट सेवा दिए पनि अब आधुनिक भवन निर्माण भएसँगै सहज रुपमा सेवा दिने अवसर बनेको बताउँदै उनले दातृ निकायका प्रतिनिधिलाई धन्यवादसमेत दिए।

सो अवसरमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्रप्रसाद यादवले राजधानी बाहिर धेरै जनसङ्ख्या भएको शहरमा सुविधासम्पन्न अस्पताल बनाउन लागिएको जानकारी दिए।

“सातै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विशिष्ट सेवालगायतको अस्पताल बनाउने सरकारको योजना छ, आधुनिक उपकरण जडान हुने यस्ता अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिनुपर्छ”, उनले भने। प्रसूति अस्पताललाई पनि स्वास्थ्य क्षेत्रको खोजअनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न लागिएको उपप्रधानमन्त्री यादवले बताए।
५४ प्रतिशत स्वास्थ्य संस्था पुनःनिर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले एक हजार ९२८ स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६९२ संस्था पुनर्निर्माणका लागि दातृ एवं गैरसरकारी निकायको सहयोग प्राप्त भएको जानकारी दिए। 'भूकम्पले क्षति भएका स्वास्थ्य संस्थामध्ये ५४ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ, एक हजार १९७ स्वास्थ्य संस्था बन्न बाँकी छ, प्राधिकरणको बाँकी १८ महीने अवधिमा सबै पुनःनिर्माण हुनेछ', उनले भने।

नेपालका लागि जापानी राजदूत मासामिची साइगो, जाइकाका प्रतिनिधि, अस्पतालका निर्देशक डा जागेश्वर गौतमलगायतले आधुनिक उपकरणसहितको भवनबाट गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।

विसं २०१६ भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीका अवसरमा तत्कालीन युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको सम्झनामा अस्पताल स्थापना भएको थियो । चालीस शय्याबाट शुरु भएको अस्पताल भूकम्प जानुअघिसम्म ४१५ शय्यामा सञ्चालन भइरहेको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मूल भवनमा क्षति पुगेपछि मुश्किलले ३०० शय्यासम्म चलाइएको थियो ।

तीन तलाको पाँच हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनको भुइँतलामा आकस्मिक सेवा र तीन शल्यक्रिया कक्षसहित प्रसूति सेवा रहने जनाइएको छ । भवनको पहिलो तलामा एकै पटक १० जनालाई प्रसूतिसेवा दिलाउन सकिने कक्ष, पर्याप्त कक्षाकोठा, सम्मेलन कक्ष, पुस्तकालय र प्राध्यापक कक्षको समेत व्यवस्था गरिएको छ ।

अस्पतालमा हाल नर्सिङमा स्नातक तहको अध्यापन भइरहेको तथा दश जोड दुई तहको अध्यापन गराउन पूर्वाधारलगायत तयारी भइरहेको जनाइएको छ ।

अस्पतालले गत वर्ष २० हजारलाई प्रसूति सेवा दिएकामा यस वर्ष त्यो सङ्ख्या २३ हजार पुगिसकेको निर्देशक गौतमले जानकारी दिए। अत्याधुनिक भवन निर्माण भएसँगै वार्षिक ३०

हजारसम्मलाई प्रसूति सेवा दिन सकिने अस्पतालले जनाएको छ ।सो आयोजनाअन्तर्गत वीर अस्पतालमा समेत एउटा भवन निर्माण भयो । भवनको आजै उपप्रधानमन्त्री यादवले उद्घाटन गरे। रासस

प्रकाशित मिति: : 2019-07-12 17:03:33

प्रतिकृया दिनुहोस्