मासु र चुरोटको सम्बन्ध

मदन पुरस्कार पुस्तकालय

सन्दर्भ: महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे १११ ओेै जन्मजयन्ती

लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा रोचक कुरा उनलाई मासु र चुरोट असाध्यै खानु पर्थ्याे। उनी एक हातले मासु खान्थे र अर्को हातले चुरोट पिउँथे। मासुको सन्दर्भमा साहित्यकार श्यामदास वैष्णवसँग अर्को रोचक प्रसंग पनि छ, देवकोटाको बारेमा। 

२००० सालमा काठमाडौंमा ठूलो हिमपात पर्यो। यसका कारण सारा बजार बन्द थियो। तर, देवकोटालाई खुब मासु खान मन लागेछ। त्यति बेला दुबै नेपाल भाषानुवाद परिषद्मा काम गर्थे। देवकोटाको मासिक तलब थियो, ८० रुपैयाँ। श्यामदासले नै डिल्लीबजारको ओरालोबाट एउटा मासु पसलेलाई फकाएर १० रुपैयाँको मासु किनेर ल्याइदिए।

उनी सम्झन्छन्, ‘मैले मासु किनेर ल्याएको देखेर बज्यै (देवकोटापत्नी) आत्तिनुभयो। र, भन्न थाल्नुभयो, यस्तो मौसममा रूखको हाँगो भाच्चिएर मान्छे मरिरहेका छन्। तपाईंले कसरी ल्याउनुभयो।’

यस्ता थिए महाकवि

त्यो दिन मासु छाडेर गएका श्यामदास भोलिपल्ट बिहान देवकोटाको घर पुगेका थिए। उनी त्यति बेला छक्क परे, जब देवकोटाले मासु खाएर रातभरिमा २५–३० पेजको तयार भएको खण्डकाव्यको पाण्डुलिपि देखाए। ‘उहाँले राती नै तुषार वर्णन खण्डकाव्य लेखनु भएछ,’ श्यामदास भन्छन्। 

लक्ष्मीप्रसादका पिताजी पण्डित तिलमाधव देवकोटा पनि खानाका सोखिन थिए। त्यही गुण लक्ष्मीप्रसादमा सरेको हुन सक्ने वरिष्ठ पत्रकार हरिकृष्ण श्रेष्ठ बताउँछन्। हरिकृष्ण १९९३ सालताका लक्ष्मीप्रसादकहाँ पढ्न जान्थे। 

लक्ष्मीप्रसादले स्कुल र कलेज पढ्दासम्म चुरोटमा हातै लगाएनन्। तर, सन् १९३० को दशकको मध्यमा बाबु र आमाको निधनले उनलाई स्तब्ध पारेको थियो। यसमा पनि एउटा छोरीको ६ महिनाको उमेरमै निधनले उनलाई विचलित तुल्यायो। त्यसपछि उनी चुरोटको अम्मली नै भए।

यसबीचमा अरू मान्छेभन्दा बेग्लै सोच्ने, एकोहोरिने र गृहस्थ जीवनतर्फ त्यति ध्यान नदिने देवकोटालाई मानसिक सन्तुलन गुमायो कि भनेर उपचारका लागि उनका भाइ मधुसूदनले सन् १९३९ मा भारतको राँची पुर्याएका थिए। तर, उनको असाधारण क्षमताबाट परिचित मनोचिकित्सक वर्कले हिलले भनेछन्, ‘पश्चिममा जन्मिनुपर्ने मान्छे। पूर्वमा जन्मिएछ।’

पागल नभएपनि देवकोटा इलाजका लागि भनेर पाँच महिना राँचीमै बसे। त्यही बसाइमा उनले ‘पागल’ जस्तो शक्तिशाली कविता रचे।

प्रकाशित मिति: : 2019-10-27 07:51:43

प्रतिकृया दिनुहोस्