संसारैभर हजारौँ शालिक छन् । कहीँ तानाशाह राजाका छन् । कहीँ कविका छन् । कहीँ इतिहासकारका छन्। कहीँ रक्तरन्जित साम्राज्यको निम्ति खुँडा बोकेर आफै लड्न निस्कने क्रूर युद्ध पिपासहरुका पनि छन् । कतै शालिक ठडिदैछन् भने कतै ढल्दैछन् । अनि कतै समयको सिकञ्जामा खह्रो उत्रेर कला स्तम्भका रुपमा पनि उभिएका छन् ।
स्विट्जरल्याण्डको जेनेभा डेटलाइनका पत्रकार लक्ष्मण देवकोटाले नयाँ स्तम्भ शुरु गरेका छन् - शालिकहरुको कथा । हरेक शालिकसँग जोडिएका इतिहास खोतल्ने उनको प्रयास हुनेछ । यो स्तम्भमा तपाईंहरु पनि सामेल हुन सक्नुहुनेछ । किन उभिन्छन् क्रूर शासकका शालिक ? किन उभिन्छन् तिलस्मी, तपस्वी र मिथसँग जोडिएका शालिक ? किन उभिन्छन् शब्दको जादुमय कलामा कवितामा तरंगित हुने कविका शालिक ? शालिक बन्नु बनिनु आफैमा बहसको विषय होला तर संसारभरिका शालिकले बोकेका इतिहास जान्नु पनि ज्ञानको भण्डारमा अर्को इँटा थपिनु हो भन्ने हामीलाई लागेको छ ।
त्यही स्तम्भको पहिलो श्रृंखलामा प्रस्तुत छन् - हेनरी ड्युना ।
स्विट्जरल्याण्डको जेनेभामा जन्मिएका हेनरी ड्युना रेडक्रसका जन्मदाता हुन् । संसारैभरी युद्धका बेला, विपदका बेला सहयोग र शान्तिको हात फैलाउने लाखौँ मानिसहरुको आस्थाको धरोहर बनेको रेडक्रस यसै जन्मिएको होइन ।
जीवनको अन्त्यमा चरम आर्थिक अभाव भोगेर बाँचेका ब्यापारी ड्युना तत्कालीन रुढिग्रस्त क्याथोलिक समाजमा विद्रोही थिए भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
युद्धबन्दीहरुप्रति मानवीय व्यवहार गर्न र शान्तिको पहल गर्न पहिलो जेनेभा कन्भेन्सनको रुपमा चर्चित जेनेभा सम्मेलनस्थल प्रवेशस्थलमै ड्युनाको सानो कदको शालिक राखिएको छ ।
८ मे १८२८मा जन्मिएका हेनरी ड्युनाका बाबु जेनेभाको जेलमा काम गर्थे । आमा दु:खी-गरिबको सेवामा समय खर्च गर्थिन् । उनको परिवार परम्परागत रुढिग्रस्त क्याथोलिक धर्मान्धको विरोधमा जोन काल्भिनले शुरु गरेको उदार क्रिश्चियनको संगठन केल्भिनिज्ममा सक्रिय रुपमा क्रियाशील थियो । पुराना मिथ र मूर्तिपूजा विरुद्ध दु:खी-गरिबको सेवा नै साँचो धर्म हो भन्ने मान्यताले जेनेभाका सक्रियतापूर्वक चलिरहेको केल्भिनिज्मको प्रभावले उनलाई सामाजिक बनाइदियो ।
पढाइमा ठिकठाकै थिए ड्युना । त्यतिबिघ्न मेधावी होइनन् । २१ वर्षको उमेरमा जेनेभा कलेजमा भर्ना भएका उनी कमजोर पढाइका कारण बीचमै पढाइ छोड्नुपर्ने अवस्थामा पुगे । त्यसपछि मुद्राको साटासाट गर्ने काममा लागे । केही समयमै उनको परिचय बैँक कर्मचारीको रुपमा भयो । पछि उनले ब्यापार पनि गरे ।
१८५३ मा फ्रान्स अधिनस्थ मुलुक ट्युनिशिया, अल्जेरियाको भ्रमण गरेर उनले पुस्तक लेखेका थिए । ब्यापारको सिलसिलामा अहिलेको इटालीको सल्फेरिनोमा उनले भीषण युद्ध देखे । झण्डै ४० हजारको संख्यामा हताहति भएको फ्रान्स र अष्ट्रिया बीचमा भएको भयंकर युद्धका पनि उनी प्रत्यक्षदर्शी थिए । उनले युद्धको नियम हुनुपर्छ र युद्ध रोकिनुपर्छ भन्ने नारा लगाउँदै इटालियन भाषामभन्ने नारा लगाएका थिए । युद्धमा घाइते सिपाहीको उपचारमा संलग्न उनी पछि जेनेभा फर्किए ।
जेनेभा फर्किएपछि उनले 'अ मेमेरो अफ सल्फेरिनो' नामक पुस्तक लेखे । १८६२ मा पहिलोपटक १६ सय प्रति छापिएको सो पुस्तक उनले बाँड्दै हिँडे । तत्कालीन समयमा युद्धले गुज्रिएका युरोपका विभिन्न मुलुक घुम्दै शासक र सेनामा माथिल्ला तहमा मानिसलाई शान्तिको निम्ति अग्रसर हुन अपिल गरे । जसको फलस्वरुप १८६३ मा अन्तर्राष्ट्रिय रेडक्रसको जन्म भयो ।
नोबेल पुरस्कार पहिलोपटक पाउनेमध्ये दुईमध्ये उनी एक थिए । उनीसँगै फ्रान्सका अर्थशास्त्री फ्रेदरिक पासीलाई पनि दिइएको थियो ।
ड्युनाको पछिल्लो कालखण्ड असाध्यै दु:खपूर्वक बितेको थियो । समाजसेवामा उनले सबै पैसा खर्च गरेका थिए । तत्कालीन शक्तिशाली देशको सहभागितामा जेनेभाको कन्भेन्सन गराउने श्रेय यिनै ड्युनालाई जान्छ । तथापि ऋणले असाध्यै च्यापेपछि उनी ज्यूरिखमा गएर बसे । उनको उपचार भएको अस्पताल अहिले संग्रहालयको रुपमा सुरक्षित छ भने स्विसको दोश्रो ठूलो हिमशिखरलाई ड्युना शिखरको नाम दिइएको छ ।
डिप्रेशन र एक्लोपनले गाँजिएका ड्युना ८२ वर्षको उमेरमा बिते । संसारभरकै देशले उनलाई सम्मान दिएका छन् । शान्तिको कुरा गर्ने बित्तिकै रेडक्रसको कुरा आउँछ । अनि ड्युनाको नाम आइहाल्छ । अहिले उनको जन्मस्थल हेर्न, पहिलो जेनेभा कन्भेन्सन भएको स्थल हेर्न र उनको जीवनको उत्तरार्ध बितेको ज्यूरिखको संग्रहालय हेर्न संसारभरका मानिसहरू के हिउँद, के वर्ष जुरिख आउँने गर्छन् ।
संसारभर नै हेनरी ड्युनाको सम्मानमा उनका शालिक बनाइएका छन् । शान्तिमा होस् वा युद्धमा उनको शालिक सम्झना भैरहन्छ । एउटा कुरा निश्चित छ- ंअब उनको शालिक ढल्दैन । त्यसैले भन्न मन लाग्छ- शालिक बनोस् त ड्युनाको जस्तो बनोस् ।