गोर्खा मुद्दा–२
संखुवासभाकी इन्द्रकुमारी राई। सन् १९८३ मा निकै दंग थिइन्। दंग नपरून् पनि किन?
७ वर्षपछि उनी आफ्नो लाहुरे श्रीमान खड्गचन्द्र राईलाई भेट्न संखुवासभाबाट हङकङ जादैं थिइन्। उनको मनमा अनेकन तर्कना उद्देलित भएको थियो।
संखुवासभा जस्तो विकट जिल्लाबाट हङकङ जस्तो विकसित देशतर्फ लाग्दा मनमा अनेकन विचार आउनु अस्वभाविक पनि होइन।
तर, हङकङ पुगेपछि उनी छर्लङ भइन्। लाहुरेको श्रीमति हुन कति गाह्रो रहेछ? यो स्पष्टसँग थाहा भयो।
श्रीमानसँग देशमा छुट्टिएर बस्नु पर्दा उनलाई अत्यास लाग्थ्यो। अझ, युद्वमा गएको खबर सुनेपछि कलेजो नै बाहिर निस्केला जस्तो हुन्थ्यो।
हङकङ पुग्दासम्म उनी श्रीमान सँगैं बस्न पाउने कुराले गद्गगद् थिइन्।
भिडियोमा हेर्नहुोस्
तर, त्यहाँ पुगेपछि उनी छर्लङ भइन्। नेपालबाट हङकङ उड्दा मनमा जुन चित्र उनले बनाएकी थिइन्, ती सबै धुजाधुजा भए।
श्रीमान ट्रेनिङका लागि महिनौं ब्यारेकबाट बाहिर बस्नुपर्ने। यसले झन् मानसिक तनाव थपियो।
फेरि गोराहरूको नियम कडा थियो। लाहुरेको श्रीमतिले इच्छा अनुसार लुगा लगाउन नपाउने। साडीबाहेक कुर्ता सलवार अथवा पेन्ट लगाएको उजुरी पर्यो कि लोग्नेको तलब कट्टादेखि पद घटुवासम्म हुने।
गाउँमा खेलीकुदी हिँडेको बानी। हङकङ त उनलाई जेल पो लाग्यो। ब्यारेक बाहिर आफ्नो खुसीले जान नपाउने। इच्छाएको कुरा गर्न पनि नपाउने।
कुनै ठाउँमा गडबडी भयो कि महिनौं लोग्ने लापत्ता।
यो पनि हेर्नुहोस
कञ्चनपुरकी अर्की बलात्कृत निर्मला अपहरणमाः स्लिप-किक हान्दै बचाइन् ज्यान (भिडियो)
उनले हङकङ आएपछि पहिलो पल्ट महसुस गरिन्, बेलायत सरकारले गोखा आर्मीमा भर्ती भएका नेपाली दाजु–भाइ र उनको परिवारलाई कुन हदसम्म पक्षपात गरेको रहेछ?
बेलायती सरकारको व्यवहारबाट उतिबेलादेखि नै असन्तुष्ट इन्द्रकुमारी अहिले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को महिला विभागमा बसेर अधिकारको आन्दोलनमा सक्रिय छिन्।
६१ वर्षको उमेरमा पनि उनको सक्रियता कम भएको छैन। हाल उनी गेसोको ललितपुर शाखाकी अध्यक्ष हुन्।
२०५४ सालदेखि गेसोको आन्दोलनमा होमिएकी इन्द्रकुमारी आफूहरूले थालेको आन्दोलनकै उपलब्धीको रूपमा हाल आएर गोर्खा सैनिकका श्रीमतिहरूले थुप्रै सुविधा पाएको दाबी गर्छिन्।
‘हाम्रो पालामा बेलायतीहरूले तोकेको लुगाबाहेक अन्य लुगा लगायो भने पनि श्रीमानको जागिरमा असर पथ्र्यो’, बिहीबार काठमाडौंको नखिपोटस्थित गेसोको केन्द्रीय कार्यालयमा भेटिएकी इन्द्रकुमारीले बिएल नेपाली सेवासँग इतिहास खोतलिन्, ‘उनीहरूले तोकेको ठाउँभन्दा बाहिर जान पाइदैन्थ्यो।’
बेलायत सरकारले एक साता श्रीमान र श्रीमति छुट्टिएर बस्यो भने पनि गोराहरूलाई भत्ता उपलब्ध गराउँथ्यो। तर, नेपालीको हकमा वर्ष दिनसम्म लाहुरे श्रीमानले युद्व मैदानमा बेलायतका लागि ज्यानको बाजी थाप्दा पनि एक सुका सुविधा थप हुँदैन्थ्यो।
यो पनि हेर्नुहोस
यो घटनाले उनको मन धेरैपल्ट कुडिएको छ। सन् १९८३–८६ सम्म हङकङमा बसोबास गर्दा बेलायती सरकारले लाहुरे श्रीमानलाई मात्र होइन उनीहरूको श्रीमतिलाई गरेको अपमानको प्रत्यक्ष साक्षी हुन्, उनी।
त्यसैले भन्छिन्, ‘युद्वमा जाँदा लोग्ने बाँचेर फर्किन्छ कि फर्किदैन् भनेर सधैं मानसिक पीडा भइरहन्थ्यो। सुत्केरी हुँदासम्म हामीमाथि विभेद भयो।’
गोराका श्रीमति सुत्केरी हुँदा श्रीमानले महिनौं छुट्टि पाउँथे। तर, नेपालीको हकमा ११ दिनपछि पुनः ड्यूटीमा फर्किसक्नु पर्थ्र्यो।
इन्द्रकुमारीका श्रीमान खड्गचन्द्र ब्रिटिस–गोर्खाको सेभेन जिआरमा कार्यरत रहँदा सन् १९९० मा हङकङबाट बेलायत लागे। यतिबेला इन्द्रकुमारीले २८ वर्ष लोग्नेसँग छुट्टिएर बस्नु परेको थियो।
‘हामीलाई बेलायत जाने अधिकार नै दिइएको थिएन। म जस्ता कैयन दिदी–बहिनीहरू लामो समय आफ्नो लोग्नेसँग छुट्टिएर बस्नु परेको थियो,’ उनले भनिन्।
२८ वर्षको अवधिमा श्रीमान नेपाल फर्किएको खण्डमा मात्र परिवारसँग भेट हुन्थ्यो। गेसोको आन्दोलनकै कारण सन् २००८ मा बेलायत सरकारले गोर्खा आर्मीप्रति भेदभाव भएको स्वीकार गर्यो। र, उनीहरूको परिवारलाई पनि बेलायत जाने सुविधा प्रदान गर्यो। यसपछि मात्र इन्द्रकुमारी बेलायत गएकी थिइन्।
‘अहिलेका पुस्ताहरूले बुझ्नुपर्छ। धेरै ठूलो त्याग र संघर्षपछि हामीहरूले यो अधिकार पाएका हौं,’ उनले भनिन्, ‘अझ पूर्ण न्याय प्राप्त भइसकेको छैन। सुरुमा हामी लड्दा बेलायत सरकारले कहाँ हामीलाई अधिकार दिन्छ भन्थे? पछि केही भए पनि दिनुपर्यो। अब पनि एकजुट भएर लड्यौं भने धेरै छिटो सम्पूर्ण अधिकार दिन कर लाग्छ।’
बेलायत सरकारले सन् २००८ मा उतै गएर बस्ने अधिकार प्रत्यायोजन गरे पनि इन्द्रकुमारी देश छोडेर चट्टकै पलायन हुने मनस्थितिमा छैनन्। उनी नेपाल आफ्नो जन्मभूमि र बेलायत श्रीमानको कर्म भूमि भएको बताउँछिन्।
यो पनि हेर्नुहोस
‘मेरो श्रीमानलगायत लाखौं नेपालीले बेलायतको राजमुकुट र बेलायती जनताका लागि खुन र पसिना बगाएका छन्। यसक्रममा हामी श्रीमतिहरूले थुप्रै मानसिक यातना भोग्नुपर्यो। बेलायत सरकारले यसको एक छेउ पनि भर्पाइ गरेको छैन,’ उनले भनिन्।
उनी बेलायत सरकारले गोर्खा आर्मीलाई पूर्ण न्याय दिन नसक्दा अहिले पनि २–२ वर्षमा कार्ड नवीकरण गर्न बेलायत जाने गरेको बताउँछिन्।
इन्द्रकुमारीका दुई छोरा छन्। जो अहिले बेलायतको बर्मिङघम नजिकै ननिटनमा बसोबास गर्छन्। उनको इच्छा छ, बुढेसकालमा छोरा–बुहारीसँग बस्ने।
तर, बेलायतकै असमान नीतिका कारण छोराहरू बेलायत बस्न बाध्य छन् भने उनी नेपालमा लाहुरे श्रीमानसँग काठमाडौंमा बसोबास गर्छिन्।
भन्छिन्, ‘जवानीमा लोग्नेसँग छुट्टिएर बस्नु पर्यो। अहिले छोरा–छोरीसँग।’
यो पनि हेर्नुहोस्