‘चिनियाँ राष्ट्रपतिको अपेक्षा ओबिआरको काम द्रुतगतिमा बढोस्ः बिनोद बिष्ट (भिडियाे सहित)

बिएल

सन् १९९० को दशकमा दक्षिणपूर्वी एसियामा देखिएको आर्थिक संकट समाधानका लागि चीनले एउटा मञ्चको गठन गर्यो। जसलाई ‘बोआओ फोरम फर एसिया’ को रुपमा अहिले पनि बुझ्ने गरिन्छ। चीनले एसियाली राष्ट्रमा द्रुतगतिमा विकाश र आपसी भाइचारालाई बिस्तार गर्ने उद्देश्यले सन् २००१ मा ‘बोआओ फोरम’ गठन गर्यो।

यही संगठनको राजधानी बेइजिङमा रहेको सचिवालयमा बसेर नेपालका बिनोद बिष्टले सन् २००२ देखि २००७ सम्म ५ वर्ष काम गरे। नेपालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टका जेठा सुपुत्रसमेत रहेका बिष्ट चीन र नेपालबीचको सम्बन्ध बारे धेरै जानकार मानिन्छन्।

चिनियाँ राष्ट्रपति सी चिङफिङ शनिबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रिँदैछन्। २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको हुन लागेको नेपाल भ्रमण बारे बिएल नेपाली सेवाले धेरै कुरा बुझ्न खोजेको थियो।

उनले बिएल नेपाली सेवालाई दिएको अन्तर्वार्ता (भिडियोमा सम्पूर्ण अन्तर्वाता हेर्नुहोला) मा चिनियाँ राष्ट्रपतिको आगमनले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाई दिने बताएका छन्।

साथै उनले राष्ट्रपति सीले चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा नेपालले सहयोग गरोस् भन्ने कुरामा ठूलो अपेक्षा राखेको बताए। चीनको महत्वकांक्षी यो योजनामा नेपालले यसअघि नै सम्झौंता गरेपनि काम अगाडि बढ्न सकेको छैन।

फेरि नेपालमा बेलाबेलामा तेस्रो मुलुकको चलखेल र नेपाली नेताहरूको गैरजिम्मेवार पूर्ण प्रतिक्रियाले चीनलाई दोधारमा पार्ने गरेको छ। नेपालमा लामो समयपछि स्थायी सरकार निर्माण भएको छ। यस्तो अवस्थामा चीनले आफ्नो छिमेकी राष्ट्रबाट विश्वासको वातावरण चाहेको बिष्ट बताउँछन्।

उनी भन्छन्, ‘बिआरआईमा नेपालसँग चीनले जुन अपेक्षा गरेको छ, त्यो ठूलो कुरा हो। नेपालको विकाशमा चिनियाँहरूले पहिलेदेखि नै सहयोग गर्न नखोजेका होइनन्। तर, हामी सम्झौंता मात्र गर्छो। काम अगाडि बढ्दैन्।’

उनले चीन शक्तिशाली राष्ट्र मात्र नभएर संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत सुरक्षा परिषद्को पाँचवटा स्थायी सदस्य राष्ट्रमध्ये एक भएको र यसले नेपाललाई स्वतन्त्र र सार्वभौम भएर बाच्न ठूलो मद्धत पुर्याएको बताए।

‘नेपाललाई संकट पर्दा बेलाबेलामा चिनियाँ नेताहरुले नेपालको स्वतन्त्रतामा केही आँच आयो भने हामी छौं भनेर ढाड्स दिँदै आइरहेका छन्। यो ठूलो कुरा हो,’ उनले भने, ‘हामी दुई ठूला देशको बीचमा छौं। त्यसैले हाम्रो लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको नै आफ्नो स्वतन्त्रता र पहिचानलाई जोगाउने हो।’

उनले नेपाल संवेदनशील ठाउँमा उभिएको बताउँदै भने, ‘ हामीलाई कतै पनि ढल्किने छुट छैन। न हामी चीन तर्फ ढल्कन सक्छौं, न भारततर्फ।’

१२ वर्षअघि उनी ‘बुआओ फोरम’ मा काम गर्दा चिनियाँले भन्ने गरेको कुरा सुनाउँदै भने, ‘उनीहरू नेपाल घुमेर फर्किएपछि मलाई भन्थे। नेपाल अति सुन्दर छ। तर, नेपालीहरु गरिब छन्। मलाई सुन्दा नरमाइलो लाग्थ्यो।’

बिष्ट नेपाली नेताहरु चीनले भनिरहेको ‘वान चाइना पोलिसी’ को विषयमा अझैं ‘कनफ्युजन’ मा रहेको बताउँछन्। ‘चीनले तिब्बतको विषयलाई लिएर ‘वान चाइना पोलिसी’ भनेको होइन। ताइवानसहित चीनको अवधारणालाई अगाडि सारेको हो। हाम्रो नेताहरुमा यो कुराको ‘कन्फुजन’ छ। तिब्बततर्फ त उनीहरूको सुरक्षा चासो मात्र छ।’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा ‘माग्ने जस्तै’ चीनले पनि नसक्ने कुरा नमाग्न उनी नेताहरुलाई सुझाव दिन्छन्। ‘केरुङदेखि काठमाडौंसम्म रेल सित्तैमा बनाइदेउ भन्ने पनि सम्भव कुरा हो। दुई–चार रुपैयामा बन्ने कुरा हो र । रिङ रोड फराकिलो बनाइदेउ भन्दा बनाइदिन्छ।’

 

प्रकाशित मिति: : 2019-10-11 17:49:51

प्रतिकृया दिनुहोस्