साफ यू–१८ च्याम्पियनसिप: आज नेपालले माल्दिभ्सको सामना गर्दै, उपाधिमा ह्याट्रिक गर्ला त?

बिएल

साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।

हलचोकस्थित एपीएफको खेलमैदानमा आज दिउँसो तीन बजे सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ ।

नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जित्ने लक्ष्य रहेको बताए ।उनले भने, ‘हामीले योभन्दा अगाडि दुई पटक उपाधि जितिसकेका छौं । यो पटक हामीलाई निकै चुनौती छ । हामी उपाधि जित्दै ह्याट्रिक पूरा गर्ने लक्ष्यमा छौं ।’

कप्तान जय गुरुङले घरेलु मैदानमा प्रतियोगिता खेल्न निकै उत्साहित रहेको भन्दै उपाधि घरैमा राख्ने बताएका छन्, उनले भने, ‘हामी सबै आत्मविश्वासी भएका छौं । तयारीको क्रममा हामीले मैत्रीपूर्ण खेल खेलेका छौं । हाम्रो लक्ष्य नै उपाधिमा ह्याट्रिक हान्ने हो ।’

यो प्रतियोगिताकै लागि भनेर नेपाली युवा टिमले पोखरा गएर अभ्यास गरेको छ । प्रतियोगिताको लागि निकै राम्रो तयारी गरेको भन्दै मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो लागि समूह चरण भन्दा पनि सेमिफाइनल गाह्रो हुनेछ । तर हामीले हरेक पोजिसनलाई सुधार गरेका छौं । हाम्रो राम्रो पक्ष नै मिडफिल्ड हो ।’

समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।नेपालले समूह चरणको अन्तिम खेलमा असोज पाँच गते भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१५ मा नेपालमा भएको पहिलो संस्करणको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको थियो । तर दोस्रो संस्करणदेखि भने यू–१८ साफ च्याम्पियनसिप गर्न थालिएको हो । भुटानमा २०१७ मा भएको दोस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिपमा पनि नेपालले उपाधि जितेको थियो ।

 

नेपाली यू–१८ टिम

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ (कप्तान), मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी ।

प्रकाशित मिति: : 2019-09-20 07:44:32

प्रतिकृया दिनुहोस्