जर्मन बुण्डेस लिगा: बायर्नको फराकिलो जित, फिलिप काउटिन्हो फेरि चम्किए

तस्बिरः एजेन्सी

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा म्युनिखले कोलोगेनलाई ४–०ले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा फिलिप काउटिन्हो र इभान पेरेसिसले एक–एक गोल गरेका थिए ।

तेस्रो मिनेटमै लेवान्डोस्कीले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले २–० को अग्रता बनायो । फिलिप काउटिन्होले ६२ औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल गरेका थिए ।७३ औं मिनेटमा पेरिसिसले गोल गर्दै फराकिलो जित दिलाए । जितसँगै बायर्न ११ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

यसैगरी, बायर लिभर कुसेनले युनियन बर्लिनलाई २–० ले पराजित गर्दा हर्थ बीएसीले पेडरबर्नलाई २–१ ले निराश बनाएको थियो । यस्तै, फेरिबर्ग र अक्सबर्गले भने एक–एक गोलको बराबरी खेलेका थिए ।

प्रकाशित मिति: : 2019-09-22 12:01:57

प्रतिकृया दिनुहोस्